झापा, मंसिर १६ । झापा गाउँपालिकाका जनप्रतिनिधिहरुले सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत रहेको योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेललाई ध्यानाकर्षण गराएका छन् ।

१४ वर्षदेखि अलपत्र रहेको कन्काई माई खोलाको पुल र सानो माई खोलामा असोज १९ गते आएको वाढीका कारण भासिएको पुलको वारेमा ध्यानाकर्षण गराएको झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले सानो माई खोलामा भासिएको पुलको ठाउँमा ह्युमपाईप राखी डाइभर्सन खोली यातायात संचालन गरिदिने वताएका छन् । प्रमुख पोखरेलले कन्काई पुलको ठेक्का केही दिनअगावै महादेवखिम्तीको संयुक्त उपक्रम (जेभी)सँगको ठेक्का सम्झौता अन्त्य गरि रद्द गरिएकोले ठेक्का लाग्न केही समय लाग्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ गत असोज २६ गते वाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न झापा गाउँपालिका आएका थिए । त्यस क्रममा १४ वर्षदेखि अलपत्र रहेको कन्काई पुल निरीक्षण गरेका थिए । त्यसपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको थियो ।
मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको लम्बाई ७ सय २३ मिटर रहेको छ ।



