झापा,मंसिर १७ । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछिको विकसित परिस्थितिमा पनि नेपालमा पर्यटक आगमन उत्साहजनक रहेको छ ।

सामान्यतयाः सडक आन्दोलन, हड्ताल वा राजनीतिक अस्थिरताको सानो संकेतले पनि प्रभावित हुने पर्यटन क्षेत्र यसपटक भने आन्दोलनका बाबजुद चलायमान नै देखिएको हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख ६० हजार नाघेको छ । सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका स्वरहरूले समेत विदेशी पाहुनाको ‘नेपाल मोह’ लाई कम गर्न नसकेको तथ्याङ्कले देखाएको छ ।

यो तथ्याङ्कले नेपालको पर्यटन क्षेत्र अब ‘रिकभरी’ को चरण पार गरेर विस्तार र समृद्धिको चरणमा प्रवेश गरेको स्पष्ट संकेत गरेको छ ।
पर्यटन बोर्डका अनुसार विगतका वर्षहरूमा नेपालमा हुने राजनीतिक आन्दोलन वा सडक प्रदर्शनले अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक सन्देश प्रवाह गथ्र्यो, जसको प्रत्यक्ष असर ‘बुकिङ क्यान्सिलेसन’ मा देखिन्थ्यो । तर यसपटकको ‘जेनजी आन्दोलन’ का बाबजुद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने पर्यटकको लर्को घटेन, बरु बढ्यो ।
पर्यटन व्यवसायीहरूका अनुसार यसको मुख्य कारण नेपालप्रतिको अन्तर्राष्ट्रिय विश्वास र पर्यटकहरूको बदलिएको मनोविज्ञान हो । पर्यटन व्यवसायी सन्तोष साहले भने, ‘अहिलेका पर्यटक सुसूचित छन् । उनीहरूलाई नेपालको आन्दोलन पर्यटक लक्षित हुँदैनन् भन्ने थाहा छ । जेनजी आन्दोलन लोकतान्त्रिक अभ्यासको एउटा पाटो थियो, जसलाई पर्यटकले असुरक्षाभन्दा पनि नेपालको जीवन्त समाजको रूपमा बुझे ।’
पर्यटक आगमनमा देखिएको यो वृद्धिमा नेपाल पर्यटन बोर्डको रणनीतिक योजना, कूटनीतिक पहल र निरन्तरको बजारीकरणले ठुलो भूमिका खेलेको बोर्डका सीईओ दीपकराज जोशी बताउँछन् । ‘पर्यटनलाई असर पर्न सक्ने नकारात्मक प्रभावलाई चिर्न बोर्डले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्न कुनै कसर बाँकी राखेको छैन,’ उनले भने ।

बोर्डले डिजिटल प्लेटफर्ममार्फत ‘नेपाल इज सेफ एण्ड ब्युटिफुल’ (नेपाल सुरक्षित र सुन्दर छ) भन्ने सन्देश विश्वभर फैलाउन आक्रामक ‘डिजिटल र सोसल मिडिया क्याम्पेन’ चलाएको छ । पर्यटकलाई लक्षित गर्दै फेसबुक लाइभ, टिकटक, इन्स्टाग्राम र युट्युबमार्फत नेपालका साहसिक र सांस्कृतिक पक्षहरूको प्रचार गरिरहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्