झापा, मंसिर १७ । २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् ।

विश्वासको मत पाउने छाँट नदेखेपछि उनले मुख्यमन्त्री पदबाट प्रदेशसभाको बैठकमा नै राजीनामा गरेका छन् । यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

बर्दिबासको पानस कटेजमा झिसमिसेमै मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेपछि विवाद बढेको थियो । त्यही निहुँमा संघीय सरकारले मधेशका तत्कालीन प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेर जनकपुरका सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिको सिफारिस गरेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा विपक्षी सात दल भने प्रदेश सभाको बैठकमा सहभागी भएनन् । विपक्षी बेन्च पूरै खाली थियो । बैठकमा एमालेका सांसद मात्र उपस्थित छन् । राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारी तुरुन्नम पनि बैठकमा उपस्थित थिए ।

’मेरो नियुक्ति नै बाध्यात्मक छ । त्यसैले विश्वासको मत लिने वा नलिने सवाल रहँदैन,’ मुख्यमन्त्री यादवले राजीनामाअघि भने,’जति दिन सरकारमा रहयौं, जनताको काम मात्र गर्‍यौं ।’ उनी २२ दिनका लागि मधेश प्रदेशका मुख्यमन्त्री भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्