झापा, मंसिर १७ । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लि.ले मुनाफा बढाउँदै गएको छ ।


संस्थाको सातौं अधिवेशन तथा २० औं वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मोहन शिवाकोटीले आफूहरुको संस्था प्रगतितर्फ उन्मूख रहेको जानकारी दिएका हुन् । उनका अनुसार गत वर्ष १९ लाख १५ हजार ९१५ रुपैयाँ खुद नाफा कमाएको संस्थाले यस वर्ष ७१ लाख ३ हजार ७४३ रुपैयाँ नाफा आर्जन गर्न सफल बनेको हो । सहकारी पसल संचालन गरिरहेको विराटले सहकारी पसलबाट यस वर्ष ५ लाख २२ हजार ५१२ रुपैयाँ संचालन नाफा कमाएको उनले जानकारी दिएका छन् ।

२०६३ सालमा स्थापना भएको सो सहकारीमा ४०२३ जना शेयर सदस्यहरुले कारोवार गरिरहेका छन् । जसमा २२१४ महिला, १७०४ पुरुष २१०५ संघ संस्था शेयर सदस्यको रुपमा रहेका छन् भने ३२४ बालबालिकाहरु बाल बचत कारोबारमा सहभागी भएका छन्। संस्थाको कूल शेयर पूँजी ५ करोड ५० लाख ३ हजार ९०० रुपैयाँ रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाका अध्यक्ष शिवाकोटीको अध्यक्षतामा जेष्ठ सदस्य ९५ वर्षीय कृष्णबहादुर दाहालले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख सल्लाहकार उमानाथ ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव गणेश ओली र प्रवन्धक रुद्रप्रसाद सिटौलाले संचालन गरेको कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


पर्शुराम सिटौला स्मृति पुरस्कार साहित्यकार आचार्यलाई
विराट सहकारीले यस वर्षको स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार साहित्यकार केशव आचार्यलाई प्रदान गरेको छ । ११ हजार १११ रुपैयाँ राशिको सो नगद पुरस्कार र सम्मानपत्र कार्यक्रमका विशिष्ट अतिथि हरिचरण शिवाकोटी , संस्थाका अध्यक्ष शिवाकोटी र स्व. सिटौलाकी पत्नीले संयुक्तरुपमा प्रदान गरेका थिए ।

त्यस्तै जनही ७ हजार ५ रुपैयाँको नगद राशिसहित जेष्ठ नागरिक सम्मानबाट देवीप्रसाद ओली , उपासुसिंह राजवंशी , सति राजवंशी र पूर्णीदेवी महतो सम्मानित भएका छन् । त्यस्तै उत्कृष्ट कारोबार गर्ने रघुनाथ सिटौला र सुगन्धादेवी राजवंशीलाई जनही ७ हजार ५०५ रुपैयाँले पुरस्कृत गरिएको छ । त्यस्तै संस्थाका व्यवस्थापक तेजप्रसाद पाठकलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।

त्यस्तै सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने भावना कार्की , आयुशा थापा , अभिनभ सिलवाल र प्रतिक ढकाललाई पनि नगदसहित पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्