झापा, मंसिर १८ । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी २० वर्षपछि विदा हुँदै गर्दा सो पदका लागि दुईजनाले प्रतिष्पर्धा गर्दैछन् ।

संस्थाको सातौ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको लागि शुरु भएको निर्वाचन कार्यक्रममा अध्यक्ष पदका लागि होमप्रसाद सिटौला र कपिल न्यौपानेले उम्मेद्वारी दिएका हुन् । हिजो संस्थाको २० औं साधारणसभा तथा सातौ अधिवेशनमा नयाँ कार्यसमिति घोषणा गर्नुपर्ने थियो । तर,अन्य पदहरुमा सर्वसम्मति भएर अध्यक्ष पदमा दुवैजनाले दावी नछोडेपछि घोषणा हुन सकेन । सर्वसम्मति नभएपछि आगामी पुषमा मतदान तोकिएको छ ।
अन्य सबै पदहरुमा सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षमा केशवराज पाठक , सचिव अर्जुन पाठक , कोषाध्यक्ष भीमा शिवाकोटी तथा सदस्यहरुमा राजु चाम्लिङ, निरोज सिटौला , पुनम प्रसाई , टीका लामिछाने र नरेश न्यौपाने चयन भएका छन् । त्यस्तै अर्जुन न्यौपाने संयोजक तथा सदस्यहरुमा होमप्रसाद उप्रेती र दिनेश अधिकारी रहेको लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत गठन भएको छ । निर्वाचन गराउन शम्भु थापा मगरको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
संस्थापक अध्यक्ष मोहन शिवाकोटी भने नयाँ कार्यसमिति चयन भएपछि २० वर्षपछि विदा हुन लागेका छन् । २०६३ सालमा स्थापना भएको सो सहकारीमा ४०२३ जना शेयर सदस्यहरुले कारोवार गरिरहेका छन् ।



