झापा,मंसिर १८ । नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा बहाल रहेकालाई उम्मेदवार नबनाउने भएको छ ।


कांग्रेस केन्द्रीय कार्यालयले मङ्सिर १५ गते ‘प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्य पदका उम्मेदवारको नाम सिफारिस गर्ने’ शीर्षकमा परिपत्र जारी गर्दै २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाउने उल्लेख गरेको थियो ।
त्यो परिपत्रलाई थप प्रस्ट्याउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पुनः परिपत्र जारी गर्दै राष्ट्रियसभामा र प्रदेशसभामा बहाल रहेकाहरूलाई उम्मेदवारका लागि सिफारिस नगर्न निर्देशन दिएका छन् ।
‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा मुख्यसचिव पौडेलले लेखेका छन् ।
प्रदेशसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फको बन्द सूचीमा समावेश भएका उम्मेदवारहरूको नाम पनि सिफारिस गर्न नपाइने पौडेलले बताएका छन् । कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि एक महिलासहित तीन जना, समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न मातहतका पार्टी निकायलाई परिपत्र गरेको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि एक सिटमा तीन जनाको नाम सिफारिस गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्