झापा, मंसिर १९ । डीएसपी किशोर लम्सालले इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालेको एक महिना पूरा भएको छैन । महिना दिन नबित्दै उनले ६ पटक स्वीप अपरेसन गरिसकेका छन् ।

त्यसक्रममा करिव ६० जना पक्राउ परेका छन् । जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकमा तोडफोड र आगजनी गर्नेदेखि लिएर होटलमा यौन व्यवसाय संचालन गर्ने , लागूऔषधका कारोबारी र प्रयोगकर्ता , मादक पदार्थ सेवन गरेर होहल्ला गर्नेसम्मका व्यक्तिलाई नियन्त्रणमा लिएर उनले कार्वाही चलाएका छन् । स्वीप अपरेसनकै क्रममा ठूलो आवाजका साथ ध्वनि प्रदूषण गर्ने ५० वटा मोडिफाई मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।
स्वीप अपरेसनका क्रममा जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकमा तोडफोड र आगजनी गर्ने चारजनालाई पक्राउ गर्न सफल भएको डीएसपी लम्सालले बताए । उनले ग्राहकको इन्ट्री नगर्ने र सीसीटिभी नभएका होटलका संचालक ,लागूऔषधका प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरी कार्वाही चलाइएको जानकारी दिए । स्वीप अपरेसन प्रहरीको नियमित कर्तव्यभित्र पर्छ । अभियानकै रुपमा लगातार स्वीप अपरेसन गरेर अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गराउन सहयोग पुगेको उनको भनाई छ ।
स्वीप अपरेसनका क्रममा बुधवार राति ८ जना पक्राउ परेका छन् । राति ८ः३० बजे स्वीप अपरेसनमा खटिएको डीएसपी लम्साल नेतृत्वको प्रहरी टोलीले दमक –७ रतुवा खोला बाँधबाट लागूऔषध सेवनकर्ताहरुलाई नियन्त्रणमा लिएको हो ।



