बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस फाइनलमा प्रवेश गरेका छन् ।

आज भएका सेमिफाइनल खेलहरुमा आ–आफ्‌ना प्रतिष्पर्धीहरुलाई हराउँदै दुवै विभागीय टीमले फाइनल भेट पक्का गरेका हुन् । अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो ।

एपिएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यु डायमन्डलाई स्तब्ध पारेको थियो । न्यु डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी जमुना सेन्च्युरी भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी फणिन्द्र आचार्यलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।पुलिसले ६–२५, १५–२५ र १७–२५ को सोझो सेटमा आर्मीलाई स्तब्ध पारेको थियो । सो खेलको प्लेयर अफ द म्याच पुलिसकी एलिसा मानन्धर भइन् । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरिन् ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल भोलि हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्