मेचीनगर, मंसिर २० । बंगलादेशबाट भारत हुँदै रोहिंग्या मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दै पूर्वी नेपालको सीमा नाकामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर पाडाजुंगीबाट एक सेक्सन टिम थप परिचालन गरिएको हो । झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सिमानाको फाइदा उठाउँदै गलत मानिसहरु नेपाल प्रवेश गर्ने भएकाले त्यसतर्फ निगरानीका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा आठजनाको टोली पूर्वी नेपालको पुरानो मेची पुल, भान्सा खोला, तुर्केनीलगायतका क्षेत्रमा परिचालन गरिएको हो । ‘विशेषगरी यो टिमले पुरानो मेची पुलसहित दायाँ बायाँ भान्सा खोला, तुर्केनी, नकलबन्दालगायतका खुला क्षेत्रबाट पैदल भएर नेपाल छिर्ने मानिसहरुप्रति निगरानी गर्ने छ’ एकजना प्रहरी अधिकृतले भने,‘यी र गलत मान्छेको आवतजावत भए नभएको हेर्ने तथा मुख्य मार्ग नभएर दायाँ बायाँ भएर नेपाल छिर्ने मानिसहरुको परिचयपत्र हेर्ने लगायतका काम गर्ने छ ।’ टोलीले सम्भावित क्षेत्रमा समेत उच्च सतर्कता अपनाउने छ ।

मेची पुलमा भारततर्फबाट नेपाल आउने सवैको परिचयपत्र अनिवार्य हेर्ने गरिएको छ । शंकास्पद मानिस फेला परे तत्काल नियन्त्रणमा लिने जनाइएको छ । पछिल्लो समय बंगलादेशमा हिंसा बढेसँगै भारतको बाटो हुँदै नेपालमा बंगलादेशीहरु प्रवेश गर्न सक्ने सूचना आएपछि केही महिना अघिदेखि स्थानीय प्रशासनले सतर्कता अपनाएको हो ।

बंगलादेशमा तनावपछि नेपालको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएसँगै थप सुरक्षाकर्मी परिचालन गरिएको एकजना प्रहरी अधिकृतको भनाई छ । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै अबैधरुपमा बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ । त्यसलाई मध्यनजर गर्दै नेपाल– भारत सीमा क्षेत्रमा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । बंगलादेशीहरू भारतीय नागरिक(बंगाली) बनेर अवैध रूपमा नेपाल छिर्ने गरेको घटना बेला–बेला सार्वजनिक हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्