झापा, मंसिर २१ । धान झार्ने मेशिन थ्रेसरमा परी झापामा आज एकैदिन दुईजनाको हात छिनेको छ ।

आज दिउँसो ३ बजे बुद्धशान्ति गाउँपालिका वडा न.३ दुई रिङगे टोल बस्ने छबिलाल न्यौपानेको धान थ्रेसर मेसिनले झार्ने क्रममा सोही ठाउँ बस्ने ४५ वर्षीय कुलबहादुर थापाको हात छिनेको हो । थ्रेसर मेसिनले दाहिने हात च्यापि कुहिना मुनिको भाग छिनेका घाइते थापालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।
थापाको उपचारमा थ्रेसरधनी उनकै दाई पदम थापा संलग्न रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा टोली खटिएर थप अनुसन्धान भइरहेको छ । थ्रेसर मेसिन इप्रका बुधबारेको नियन्त्रणमा रहेको छ ।
त्यस्तै थ्रेसरले हातको औंला काटिएर भद्रपुरमा एकजना घाइते भएका छन् ।आज बिहान १० बजे भद्रपुर नगरपालिका वडा न.६ मन्त्री चोक बस्ने ५० वर्षीय नारायण राजवंशीले आफ्नै घरको धान थ्रेसर गर्ने क्रममा थ्रेसरले उनको बायाँ हातको २ वटा औला काटिएको हो ।
घाइतेलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा ल्याइएको छ । घाइतेको उपचारमा थ्रेसरधनी भद्रपुर ७ बक्तोबारी बस्ने सुनिल राजवंशी संलग्न रहेको प्रहरीले जनाएको छ ।
यसअघि बिहीवार ट्रयाक्टरको रोटाभेटरबाट लडेर झापा गाउँपालिकामा एकजनाको हात चुँडिएको थियो । बिहीवार राति १० बजे झापा गाउँपालिका वडा न.१ सालमारा बस्ने चालक ४० वर्षीय गोपाल राजवंशी प्र.१–०१–००१त ९१६५ न.को ट्रयाक्टरले आफ्नै खेत जोत्ने क्रममा ट्रयाक्टर रोकी रोटाभेटरबाट ओर्लिने क्रममा लडेका थिए । लड्दा उनको दाहिने हात चुँडिएको थियो भने दुवै खुट्टामा गहिरो चोट लागेको थियो । गंभीर अबस्थाका राजवंशीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । ट्रयाक्टरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।
थ्रेसरमा च्यापिएर झापामा दुईजनाले ज्यान गुमाइसकेका छन् । दुई वर्षअघि झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको थियो । त्यस्तै थ्रेसरमा च्यापिएर बाह्रदशी ६ बालुवानीकी ४८ वर्षीया लीला चापागाईको पनि ज्यान गएको थियो ।



