झापा, मंसिर २१ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा करिव आधा जति महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समूहले दावी गरेको छ ।

झापामा खुल्ला, महिला , युवा र दलिततर्फ गरी ३८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । त्यसमध्ये आन्तरिकरुपमा गणना गर्दा १५जना आफ्नो पक्षमा रहेको पोखरेल समूहका एक नेताले बताए । पार्टी अध्यक्ष ओलीका समर्थकहरु जस्तो आफ्ना समर्थकहरुले खुलेर अहंकार नदेखाएको उनको भनाई छ ।
तेस्रो पटक केपी ओलीले अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरिरहँदा पार्टी नेतृत्व परिवर्तनको आवाज उठाउने झापामा धेरै छन् । तर उनीहरु खुलिसकेका छैनन् । पार्टीका केन्द्रीय सदस्य रविन कोइराला भने खुलेर लागेका छन् ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनकै बेलामा झापामा उम्मेद्वारहरुको प्यानल खुलिसकेको थियो । झापा क्षेत्र नं ४ मा निवर्तमान सांसद एलपी साँवा नेतृत्वको प्यानलले नै जित हासिल गरेको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र नं. १ मा राजु पोखरेल,असारु राजवंशी, लक्ष्मी राई ,रमा भण्डारी ,जानुका ओली र दिपक बराल,झापा क्षेत्र नं. २ मा एकराज कार्की,सुवास भट्टराई, प्रेमबहादुर गिरी , चिन्तन पाठक, बलदेवसिंह गोम्देन तामाङ, पवित्रा महतारा प्रसाई , पवित्रा पाठक, सुनिता खरेल र खगेन्द्रराज आङदेम्वे महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
त्यस्तै झापा क्षेत्र नं. ३मा छविलाल चुडाल, त्रिलोचन सापकोटा,बसन्त बानियाँ, कल्पना रेग्मी ,शान्तादेवी खरेल र अग्निप्रसाद सापकोटा,झापा क्षेत्र नं. ४ मा मेगाहाङ थोप्रा( रोशन) , रविन्द्र लम्साल,एलपी साँवा, हिमबहादुर कार्की, कृष्णमाया भुजेल, गोमा रिजाल, रोशन सुवेदी, त्यस्तै झापा क्षेत्र नं. ५ मा अम्विकाप्रसाद खनाल, शिव ढुङ्गेल,होमबहादुर थापा, तुलसी कार्की, अम्बिकादेवी अधिकारी , नर्वदा उप्रेती गौतम , लिला ढुङ्गेल दाहाल र युवराज पौडेल (विवश) महाधिवेशन प्रतिनिधि बनेका छन् । त्यस्तै दलिततर्फ छविलाल विश्वकर्मा र टीकाराम बयलकोटी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धाको तयारी चलिरहेको छ । ओलीले तेस्रो पटक अध्यक्ष बन्ने तयारी गरेका हुन् । उनी पोखरेललाई पन्छाएर आफ्नो शक्तिशाली अध्यक्षको विरासत कायमै राख्न चाहन्छन् ।
नवौं महाधिवेशनदेखि ओलीसंग निकट रहेका र ओलीका राजनीतिक संकटमा साथ दिएका पोखरेलले स्वयं ओलीसंगै प्रतिष्पर्धा गर्ने घोषणाले महाधिवेशनलाई रोचक बनाउने भएको छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ छ, जो कुनै बेला ओलीनिकट थिइन् । तर ओलीले नै भण्डारीको पार्टी सदस्यता रोकेपछि उनलाई पराजित गर्न प्रयत्नशील छिन् ।



