झापा,मंसिर २२ । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक मुकेश डंगोलले सोमबार पदभार ग्रहण गरेका छन् ।

महानिर्देशकलाई प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा उपमहानिर्देशक देवचन्द्र लाल कर्णले नवनियुक्त महानिर्देशक डंगोलका तथा हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका पर्यटन सचिव मुकुन्दप्रसाद निरौलालाई स्वागत गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएको तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
अधिकारीको स्थानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेतको जिम्मेवारी बहन गर्दै आइरहेकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकुश डंगोल (एटीसी) लाई प्राधिकरणको समेत कामकाज हेर्नेगरी महानिर्देशकको जिम्मेवारी दिएकी थिइन् ।
अख्तियारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार भएको अभियोग लगाउँदै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धकविहीन भएको छ ।
नवनियुक्त महानिर्देशक डंगोलले यी दुवै विमानस्थलमा तत्कालका लागि नयाँ प्रमुख तोक्नु पर्ने छ । भैरहवामा बाबुराम पौडेल र काठमाडौंमा हंशराज पाण्डे महाप्रबन्धक थिए ।
यसैबीच, प्राधिकरणको कर्पोरेट निर्देशनालयका प्रमुख उपमहानिर्देशक प्रतापबाबु तिवारी पनि पोखरा विमानस्थलको मुद्दामा मुछिएपछि यो निर्देशनालय पनि प्रमुखविहीन छ । नलिञ्चोक हेलिपोर्ट र पोखरा विमानस्थलको लागत वृद्धि गरेको अभियोगमा प्राधिकरणका ७ जना कर्मचारी र एक बोर्ड सदस्य निलम्बनमा परेका छन् ।



