झापा, मंसिर २२ । झापा निर्वाचन क्षेत्र नं २ बाट पुनः निर्वाचन लड्ने मनसाय राखेर सभामुख देवराज घिमिरेले आफ्ना शुभचिन्तकहरुसंग सरसल्लाह गर्न थालेका छन् ।

अबको निर्वाचनमा कस्तो माहौल रहन्छ भनेर उनले आफूनिकट कार्यकर्ता , आफन्त र नातागोतासंग राय सल्लाह लिइरहेको बुझिएको छ । पुनः निर्वाचन लड्ने मनसाय राखेर झापा २ का निवर्तमान सांसदसमेत रहेका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रको दौडाहालाई तीब्रता दिएका छन् । त्योसंगै उनले बढीभन्दा बढी बजेट ल्याएर यस क्षेत्रका मतदाताको मन जित्ने प्रयास पनि गरिरहेका छन् ।
‘निर्वाचन भएको खण्डमा सभामुख घिमिरेले पुनः उठ्ने इच्छा व्यक्त गर्नु भएको छ ’ एक आफन्तले भने,‘ अरुबाट राय सल्लाह लिएर माहौल बुझ्दै हुनुहुन्छ ।’ झापा क्षेत्र नं २ एमाले नेता अग्नि खरेलले पनि दावी गरेको ठाउँ हो । केही एमाले कार्यकर्ताहरुले गत चुनावमा क्षेत्र नं २ बाट टिकट नपाएर क्षेत्र नं ३ मा गएका खरेललाई यसपटक यही क्षेत्रबाट उठाउने कसरत गरिरहेको बताइएको छ ।
अबको निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख इन्दिरा राना मगर उठ्ने चर्चा छ । उपसभामुख मगर नै उठ्ने भएपछि कांग्रेस– एमालेले निर्वाचनमा त्यही अनुसारको उम्मेद्वार खडा गर्नुपर्ने हुन्छ ।
२०७९ सालको निर्वाचनमा एमालेका पूर्व स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इञ्चार्ज घिमिरेले स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २२५६ मतले पराजित गरेका थिए । घिमिरेले २८ हजार ६९७ मत ल्याउँदा नेपालले २६ हजार ४४१ मत पाएका थिए ।
त्यस्तै गठबन्धनका तर्फबाट माओवादीका हरि रानाले १३ हजार९२४मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । चौथो स्थान भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ओगटेका थिए । उनको मत संख्या ८ हजार ७७७ थियो ।



