झापा, मंसिर २२ । झापाको कन्काई नगरपालिका वडा नं ५ मा महिला हिंसा र मानव बेचबिखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कन्काई नगरभित्रका स्थानीय उद्यमी महिला एवं कृषक समूहलाई महिला हिंसा र मानव बेचबिखनसम्बन्धी तालिम दिइएको हो ।
कन्काई वडा नं ५ को जेष्ठ नागरिक भवनमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा झापा जिल्ला अदालत बार एशोसिएसनकी सहसचिव एवं झापा बार महिला समिति अध्यक्ष अधिबक्ता सानु कार्की बस्नेतले प्रशिक्षण दिएकी थिइन् । उनले महिला हिंसाका स्वरुप, असर र प्रभाव एवं कानुनी उपचार सम्बन्धमा प्रकाश पारेकी थिइन् ।
कन्काई वडा नं २ को समन्वय, कारितास नेपालको आयोजना तथा जामुनखाडी कृषि सहकारी संस्था लिमिटेड र सक्षम सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा सञ्चालित एक दिवसीय अभिमुखीकरण कार्यक्रममा कन्काई नगरपालिकाका सबै वडाका ४० जनाभन्दा बढी स्थानीय तथा कृषक महिलाहरूको सहभागिता रहेको थियो।



