झापा,मंसिर २३ । संखुवासभाको सिलीचोङ गाउँपालिकामा जाडो यामको कठ्यांग्रिने मौसमसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर घरदैलो निःशुल्क उपचार सेवा सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार गाउँपालिकाभित्र रहेका ७५ वर्षमाथिका ४ सय ३९ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार मात्र होइन, तातोपानी तताउन प्रयोग हुने विद्युतीय जग पनि वितरण गरिएको छ ।
जाडोले वृद्धवृद्धालाई पर्ने जोखिम कम गर्न र उपचार पहुँच सबैका लागि सहज बनाउन कार्यक्रम सुरु गरिएको हो ।
जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरू एक–एक घर पुग्दै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, रक्तचाप, सुगर जाँच जस्ता आधारभूत सेवा प्रदान गरिरहेका छन् । ७० वर्षमाथिका सबैका लागि सामान्य औषधि पनि निःशुल्क वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
‘ज्येष्ठ नागरिकलाई जाडो याममा स्वास्थ्य समस्या बढ्ने भएकाले यो सेवा प्रभावकारी र आवश्यक थियो,’ अध्यक्ष मेवाहाङले भने, ‘गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत यसलाई निरन्तरता दिइनेछ ।’



