झापा,मंसिर २४ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारजस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थ र प्रभावबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एसोसिएसनले आयोजना गरेको दुई दिने राष्ट्रिय मानवअधिकार गोष्ठीको बुधबार उद्घाटन गर्दै उनले पछिल्ला वर्षहरूमा मानवअधिकारसम्बन्धी मुद्दा झन् जटिल र पेचिलो बन्दै गएको बताए ।
उनका अनुसार मानवअधिकारको क्षेत्रमा राजनीति मिसिन थालेपछि शङ्का–उपशङ्का बढ्न थाल्ने, जसले वातावरण नै विषाक्त बन्न सक्ने खतरा देखा परेको छ ।
“मानवअधिकारलाई राजनीतिक प्रभावबाट पूर्ण रूपमा अलग राख्नु आजको आवश्यकतामध्ये एक हो,” उनले भने ।
राउतले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अदालत र मिसिलहरू जलाइएका घटनालाई गम्भीरतापूर्वक स्मरण गर्दै त्यसले कागजात मात्र होइन, नेपाली जनता र राज्यको सम्पत्तिमाथि आक्रमण भएको टिप्पणी गरे । “मिसिलहरू जलाइए, तर हाम्रो इमान र निष्ठा खरानी भएको छैन,” उनले दृढता प्रकट गर्दै भने ।(रातोपाटीबाट)



