बिर्तामोड,मंसिर २४ । ७७ आंै अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा अन्तरक्रिया तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार सञ्जाल झापाको आयोजनामा गोमेन्द्र बहुमुखी कलेजमा आयोजित अन्तरक्रियामा झापामा भएका मानव अधिकार हननका विषयवस्तु, खुल्ला सीमा नाकाका कारण अन्य मुलुकका नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने संभावना, चुनौति र व्यवस्थापन तथा जेनजी आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्नताले पक्राउपछिको समस्याबारे छलफल भएको थियो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गेलालले विभिन्न कारणले जिल्लामा हुन सक्ने सुरक्षा चुनौतिको आँकलन गरी सोही अनुसारको सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको बताए ।
समाजमा शान्ति सुरक्षा कायम गर्न बिना बर्दीका प्रहरी रहेका नागरिकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले शान्ति सुब्यवस्था कायम गर्न नागरिक पनि त्यत्तिकै सजग हुनुपर्नेमा जोड दिए । पछिल्लो समय भारतको बाटो हुँदै बंगलादेशी नागरिक रोहिंग्याहरु नेपाल प्रवेश गर्न सक्ने खतरातर्फ संकेत गर्दै प्रमुख जिल्ला अधिकारीले गाउँ समाजमा नयाँ मान्छे आएमा उनीहरुको गतिविधि नियाल्न र सुरक्षा संयन्त्रलाई खबर गर्न नागरिकसमक्ष आग्रह गरे ।
पछिल्लो समय बंगलादेशी रोहिंग्याहरु विभिन्न बाटो हुँदै नेपाल प्रवेश गर्न सक्ने संभावना, चुनौति र व्यवस्थापनबारे सञ्जालका अध्यक्ष रुपक खनालले ध्यानाकर्षण गराएका थिए ।
अन्तरक्रियामा मानव अधिकार परिषद कोशीका अध्यक्ष विष्णुप्रसाद खरेल, परिषदका महासचिव कमल कोइरालालगायतले मानव अधिकारका सवाल उठाउने मानव अधिकारकर्मीको मानव अधिकारको अवस्थाबारे जानकारी गएका थिए ।
सो अवसरमा इन्सेक वर्ष पुस्तकका लागि गत एक वर्षमा झापामा भएका अधिकार हननका घटना विवरण समेटिएको प्रतिवेदन इन्सेकका झापा प्रतिनिधि नरेस खातीले प्रस्तुत गरेका थिए ।
इन्सेक वर्ष पुस्तकका लागि प्रस्तुत प्रतिवेदनमा भाषागत केही कुरा सच्याउनुपर्ने सुझाव दिइएको छ । अन्तरक्रियामा प्रशासनतर्फ लक्षित जिज्ञासाको झापाका प्रहरी प्रमुख राजन लिम्बूले जवाफ दिएका थिए । कार्यक्रममा नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यले शुभकामना मन्तव्य राखेकी थिइन् ।
यसअघि हनुमान सेन्ट्रल अगाडिबाट निस्किएको प्रभातफेरीले मुक्तिचोक पूर्व–पश्चिम परिक्रमा गरेको थियो । मानव अधिकारसंग सम्बन्धित विभिन्न नारासहित प्लेकार्ड बोकेर निस्किएको प्रभातफेरी समापनपछि सुरेश अग्रवाल भद्रपुरे, तोया काफ्ले, रेजिना गौतम, कञ्चना ढकाललगायतले सम्बोधन गर्दै कुनै पनि व्यक्तिले मानवअधिकारका न्यूनतम अधिकारको उपभोग गर्न पाउनुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन दिपक दासले गरेका थिए ।
प्रभातफेरीमा मानव अधिकार सञ्जाल झापा, नारी सञ्चार गृह, एविसी नेपाल, महिला सुरक्षा दवाव समूह, एमनेष्टी इन्टरनेशनल, गोमेन्द्र बहुमुखी कलेजलगायतका विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।



