झापा, मंसिर २४ । लगातार विभाजन हुँदै सातौ पार्टी खोलेका राजेन्द्र महतोले आफ्नो राष्ट्रिय मुक्ति पार्टीमा पूर्वका तीनवटा पहिचानवादी संगठनलाई समाहित गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्वी क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका तीनवटा संगठन महतोको पार्टीमा मिसिएका हुन् ।
आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल, कोचिला संघर्ष समिति, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र संघीय लिम्बुवान पार्टी नेपालले एकता घोषणा गरेका हुन्।
एकता घोषणा कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो , कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजबंशी, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङदेन र नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) का वरिष्ठ नेता सञ्जुहाङ पालुङवाले एकता पत्रमा हस्ताक्षर गर्दै चार दल समाहित भएको घोषणा गरेका थिए ।
नवगठित एकीकृत पार्टीमा राजेन्द्र महतो अध्यक्ष, सन्जुहाङ पालुङ्वा वरिष्ठ नेता, त्रिनारायण राजबंशी र मित्र लिङदेन उपाध्यक्ष रहने सहमति भएको छ ।चार पार्टीका शीर्ष नेताहरूले हस्ताक्षर गर्दै अबको लक्ष्य पहिचान र अधिकारका आन्दोलनलाई ‘एकीकृत वैकल्पिक शक्ति’का रूपमा अघि बढाउनु रहेको बताएका छन्।
दलबीचको एकतालाई अब प्रदेश र स्थानीय संरचनामा विस्तार गर्दै महाधिवेशनमार्फत नाम, चिन्ह र झन्डा संशोधन गर्न सकिने बताइएको छ । गत वर्ष महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति पार्टी घोषणा गरेका थिए । उनको यो सातौं पार्टी हो।
यसअघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।



