झापा,मंसिर २५ । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा यस वर्ष पनि पदयात्रा गरिने भएको छ ।

नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा आगामी पुस २३ गतेदेखि २६ गतेसम्म पदयात्रा गर्ने गरी तयारी सुरु भएको हो ।
नेपाली सेनाको रणशार्दूल गणको पहल तथा सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको समन्वयमा पदमार्ग पहिचान गरी गत वर्ष पुस २४ गतेदेखि तीनदिने पदयात्रा गरिएको थियो ।
तीन दिनमा पदयात्रा गर्न कठिनाइ भएपछि यस वर्ष चार दिनको पदयात्राको कार्यक्रम तय गर्ने गरी कार्यक्रम बनाइएको रणशार्दूल गण इलामका प्रमुख प्रह्लाद घलेले जानकारी दिए । जसमा पहिलो दिन मेची बजारमा पदयात्राको उद्घाटन गरी सूर्योदय ९ को रम्फोकमा बास बस्ने, दोस्रो दिन पहिलो पटक निशान राखिएको पूर्णे डाँडासम्म यात्रा गरी उक्त स्थानमा बास बस्ने, तेस्रो दिन माईजोगमाईको नामसालिङस्थित हात्तीटारसम्मको यात्रा गरी बास बस्ने र चौथो दिन इलाम नगरपालिकाको माईस्थानसम्म पदयात्रा गरी कार्यक्रम समापन गर्ने जनाइएको छ ।
नेपाली सेनाको रणशार्दूल गण इलाममा भएको पहिलो बैठकमा तीन वटै पालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, नेपाल प्रहरी इलामका प्रमुख एकनारायण कोइराला, सशस्त्र प्रहरी इलामका प्रमुख लोकेन्द्र सुवेदी, उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेल, इतिहासविद् युद्धप्रसाद बैद्य लगायतको सहभागिता थियो ।
छलफलमा पदमार्गलाई वर्षमा एक पटक हिंड्ने मात्र नभई पदमार्गलाई सधैं चलायमान बनाई स्थानीय पर्यटन र व्यवसायमा जोड्न सुझाव दिइएको छ । इतिहासविद् बैद्यले एतिहासिक निशान पदमार्गलाई व्यवस्थित र प्रचारप्रसार गरी पर्यटनमा जोड्न सुझाव दिए ।
पदयात्रालाई व्यवस्थित गर्नका लागि नेपाली सेनाको संयोजनमा तीनवटै पालिका र स्थानीय सरोकारवाला संलग्न निशान पदमार्ग व्यवस्थापन समिति गठन गर्ने सहमति भएको छ । मंसिर २९ गते सूर्योदय नगरपालिकामा जनप्रतिनिधिसहितको दोस्रो बैठक बसी अन्य निर्णय गरिने भएको छ । पुसको पहिलो साता पदमार्गमा सेनाले रेकी गर्ने जनाएको छ । (गोरखापत्रबाट)



