झापा,मंसिर २५ । चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन ।

पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ ।
ईडीसीडीका अनुसार पछिल्लो एक सातामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । सोही अवधिमा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । यसवर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा २ हजार १४५ जना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बागमती २ हजार १३२, लुम्बिनीमा १ हजार ३४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिम ८३२, कर्णालीमा ५३० र मधेशमा २११ जनामा संक्रमण पुष्टि भएको छ ।
सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय यो भन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ ।
जनस्वास्थ्यविद्का अनुसार, किटजन्य रोग विस्तार हुनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण रहेका छन् ।
तराईका जिल्लामा प्रकोपकै रूपमा देखिएको डेंगु संक्रमण गर्मी बढेपछि घटेको पाइएको थियो । किनकि, तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु सार्ने लामखुट्टे बाँच्न सक्दैन । तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ ।(अनलाइनखबरबाट)



