झापा, मंसिर २५ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न नेता कार्यकर्ताहरुले पहल थालिसकेका छन् ।

विभिन्न ६ चरण पार गरिसकेपछि मात्र कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्न सकिन्छ । कांग्रेसमा सात तहको चरण पूरा भएपछि बल्ल महाधिवेशनबाट केन्द्रीय नेतृत्व निर्वाचित हुने गर्छन् । तर, महाधिवेशनसम्म आइपुग्ने आधार भने कांग्रेसका क्रियाशील सदस्यहरु नै हुन् ।

विगतको १४ औं महाधिवेशनलाई फर्केर हेर्दा आफूलाई दिग्गज ठान्ने बिर्तामोडका धेरै नेताहरु वडा अधिवेशनमै रोकिएका थिए । आफू बसेको वडामै रोकिएपछि कतिपयले कांग्रेस परित्यागसमेत गरेका थिए । कांग्रेसमा रहँदा दुईपटक सांसद बनेका अमृतलाल राजवंशीले बिर्तामोड ४ को वडा अधिवेशनमा आफूलाई छिराउन सकेनन् । वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि बन्न रोकिएपछि त्यही पिरले कांग्रेस छोडेर उनी नेकपा एमालेमा गएका हुन् । एमालेमा पनि उनले समानुपातिकबाट सांसद बन्ने अवसर पाएका थिए ।

पूर्व सांसद राजवंशी मात्र नभएर बिर्तामोड ४ को वडा अधिवेशनमा कुमार भट्टराई ,टीका मैनाली,कपिलमणि शिवाकोटी , राजु न्यौपाने , मिजास पोखरेल, गणेश मादेन, जगत राजवंशी , हसिबुल मियाँ , देवी घिमिरे,मोहन चुडाल , सुरेन्द्र मैनाली, युवराज ओली , विजय काफ्‌ले , फणिन्द्र न्यौपाने , कमला श्रेष्ठ पनि क्षेत्रीय प्रतिनिधिमा रोकिएका थिए ।

त्यस्तै बिर्तामोड ५ को वडा अधिवेशनमा गोबेन धिमाल , चन्द्र गिरी , मोहन पायम , चक्र सिटौलालगायत क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए । बिर्तामोडको १० वटा वडामध्ये ४ र ५ मा निर्वाचन भएको थियो । १४ औ महाधिवेशनमा हारेको पिरले पूर्व सांसद राजवंशीसंगै जगत राजवंशी , कुमार भट्टराई कांग्रेस छाडेर अर्को पार्टीमा गएका थिए । बिर्तामोड ४ कै वडा अधिवेशनबाट निर्वाचित वडा सभापति राजकुमार प्रसाई र वडा सचिव लक्ष्मी गौतम पनि यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीमा छन् । सोही १४ औं महाधिवेशनअन्तर्गत नगर अधिवेशनबाट निर्वाचित उत्तम खनाल राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्