झापा, मंसिर २७ । लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका झापा कमल गाउँपालिका वडा नं ६ काटाचोक बस्ने बिष्णुप्रसाद बगाले तीन लाख रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।

झापा जिल्ला अदालतमा पेश गरिएका बगालेलाई अदालतले त्यति धरौटी लिएर छोड्ने आदेश दिएको हो । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट भागेका बगालेलाई बिहीवार दिउँसो ३ बजे दमक– ६थाना रोडबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इप्रका दमकको प्रहरी हिरासतबाट फरार भएका थिए ।
गत साउन २१ गते राति कमल गाउँपालिका वडा नं ६ काटाचोक बस्ने बगालेको घरमा लुकाई राखेको अबस्थामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो । गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले बगालेको घर तलासी लिने क्रममा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३००० , डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद गरेको थियो । एमालेका संगठित सदस्य बगाले नेकपा एमालेबाट निर्वाचित दमक वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापाका भाइ र निवर्तमान भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका भान्जा हुन् ।
बगालेसंगै दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक गंगाबहादुर खड्का पनि पक्राउ परेका थिए । खड्का फरार नै छन् ।
त्यसको भोलिपल्ट बिर्तामोडबाट नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य राजेन्द्र पन्धाक पनि बिर्तामोड ५ बाट ठूलो परिमाणमा औषधिजन्य लागूऔषधसहित पक्राउ परेका थिए । पन्धाक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सोही लागूऔषध गिरोहका मुख्य कारोबारी नेकपा एमाले बिर्तामोड नगर कमिटी सदस्य तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाका उपाध्यक्ष भानुभक्त खरेलको गोदामबाट गत साउन १ गते प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो । केही महिना भागेर हिडेका खरेल अन्ततः पक्राउ परी अहिले पुर्पक्षका लागि जेलमा छन् । खरेलको गोदामबाट ठूलो मात्रामा लागूऔषध बरामद भएसंगै लागूऔषधका कारोबारीहरुको गिरोहबारे पत्ता लागेको थियो ।



