कुमरखोद , मंसिर २८ । झापा गाउँपालिका वडा नं २ मा रहेको वन्डर लाईफ एकाडेमीले आफ्‌नो १६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।


त्यस अवसरमा विद्यार्थीहरुले प्रस्तुत गरेको गीत , नृत्य , नाटक , कविता तथा विविध साँस्कृतिक कार्यक्रमले अभिभावक , शिक्षक तथा अतिथिहरुको मन जितेको थियो । विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि थपलियाले वन्डर लाईफ एकाडेमीले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै अगामी दिनमा निजी तथा सामुदायिक विद्यालयहरुले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बताइन् । त्यसैगरी विशिष्ठ अतिथि झापाका प्याब्सन अध्यक्ष छत्र कार्कीले पढाइका साथै विद्यालयमा हुने विविध कार्यक्रमहरुमा विद्यार्थीहरुलाई सहभागी गराएमा उनीहरुको आत्मविश्वास बढ्ने , सृजनशील सोच तथा वौद्धिक विकास हुने र नेतृत्व क्षमताको विकास हुने बताए ।

विद्यालयका संस्थापक कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिका कार्यवाहक अध्यक्ष थपलिया , झापा प्याब्सन अध्यक्ष कार्की , वडा नं २ अध्यक्ष हिमालकुमार चम्लागाई ,वडा नं ७ का अध्यक्ष सखिचन्द्र ठाकुर ,सेन्ट जेभियर्स सडकवारी स्कुलका प्रधानाध्यापक जोमन जोस , कुवाडी देवी माध्यमिक विद्यालयका प्रअ मुकेशकुमार कर्ण , जय पाथीभरा अग्रेजी विद्यालयका प्रअ गणेश सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष कृष्णप्रसाद राजवंशी , विभिन्न निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक , शिक्षक , अभिभावक तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक सुरज प्रधानले गरेका थिए भने स्वागत मन्तव्य शिक्षिका आशमा रेग्मीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्