झापा, मंसिर २९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको कट्टर सहयोगी रहेका झापाका अग्नि खरेलले साथ छोडेका छन् ।

उनले एमालेको ११औं महाधिवेशनमा स्वतन्त्र रूपमा सचिवमा उम्मेदवारी दिएका छन् । उनले ओली पक्षबाट सचिवमा दाबी गरेका थिए । तर ओली प्यानलमा नपरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
ओली प्यानलबाट सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार भएका छन् ।
खरेल ओलीका विश्वासपात्रका रूपमा चिनिन्थे । यसअघि उनी तत्कालीन प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए ।
पूर्व कानुनमन्त्रीसमेत रहेका खरेल यसअघि २०७४ सालमा प्रधानमन्त्री ओलीकै पालामा महान्यायाधिवक्ता नियुक्त भएका थिए । २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त भएका खरेलले २०७७ चैत ६ गते राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएपछि उनले राजीनामा दिएका थिए ।
झापा गौरादहका खरेल ओली नेतृत्वकै सरकारमा कानुनमन्त्री थिए । खरेल पहिलो संविधान सभाका एमालेको समानुपातिक कोटाबाट सांसद बनेका थिए भने दोस्रो संविधान सभामा उनलाई मन्त्रिपरिषद्ले मनोनयन गरी सभासद बनाएको थियो । गत संसदीय निर्वाचनमा उनले झापा क्षेत्र नं १ बाट चुनाव लडेका थिए ।खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा संलग्न रहँदै बार एसोसिएसनका महासचिव समेत भइसकेका व्यक्ति हुन् ।



