झापा, मंसिर २९ । आगामी फागुन २१ का लागि नयाँ राजनीतिक दलहरु उदय भएपछि पूर्वमा पहिचानवादी समूहहरु एकीकृत हुन थालेका छन् ।

राजेन्द्र महतोले आफ्नो राष्ट्रिय मुक्ति पार्टीमा पूर्वका तीनवटा पहिचानवादी संगठनहरु कोचिला संघर्ष समिति, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र संघीय लिम्बुवान पार्टी नेपाललाई विलय गराएको एक साता नबित्दै पहिचानवादीहरुको अर्को एकीकृत पार्टी बन्न लागेको हो । आज दिउँसो बिर्तामोड ५ स्थित थारु कल्याणकारिणी सभाको सभाहलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच,संघीय लिम्बुवान प्रान्तीय मंच, मंगोल नेशनल अर्गनाइजेसन(एमएनओ ) ,नागरिक उन्मुक्ति पार्टीबीच एकताको लागि अनौपचारिक छलफल भएको हो ।
बैठकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराक, धनराज सुब्बा लगायत करिव १०/१२ जनाको उपस्थिति रहेको थियो । छलफलमा किराँत, लिम्बु, थारु र मंगोलको पहिचान दिनानुदिन बिलय हुने क्रममा रहेकाले आफ्नो भाषा,धर्म र संस्कृतिको पहिचान जोगाउन एकता आवश्यक रहेको सहभागीहरुले जोड दिएका थिए । हाल रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी , मंगोल नेशनल अर्गनाइजेसन र केही किराँत लिम्बुवान पार्टीहरुसंग छलफल भैरहेको र आगामी चुनावअघि नै पहिचान पक्षधर एक हुनुपर्ने आवश्यकताका बारेमा छलफल भएको जनाइएको छ ।
पाँच दिनअघि बिर्तामोडमा आयोजित कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल, कोचिला संघर्ष समिति, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र संघीय लिम्बुवान पार्टी नेपालले एकता घोषणा गरेका थिए ।
एकता घोषणा कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो , कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजबंशी, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङदेन र नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) का वरिष्ठ नेता सञ्जुहाङ पालुङवाले एकता पत्रमा हस्ताक्षर गर्दै चार दल समाहित भएको घोषणा गरेका थिए ।
नवगठित एकीकृत पार्टीमा राजेन्द्र महतो अध्यक्ष, सन्जुहाङ पालुङ्वा वरिष्ठ नेता, त्रिनारायण राजबंशी र मित्र लिङदेन उपाध्यक्ष रहने सहमति भएको छ ।चार पार्टीका शीर्ष नेताहरूले हस्ताक्षर गर्दै अबको लक्ष्य पहिचान र अधिकारका आन्दोलनलाई ‘एकीकृत वैकल्पिक शक्ति’का रूपमा अघि बढाउनु रहेको बताएका छन्।दलबीचको एकतालाई अब प्रदेश र स्थानीय संरचनामा विस्तार गर्दै महाधिवेशनमार्फत नाम, चिन्ह र झन्डा संशोधन गर्न सकिने बताइएको छ ।
गत वर्ष महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति पार्टी घोषणा गरेका थिए । उनको यो सातौं पार्टी हो। यसअघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।



