झापा, पुष १ । झापामा जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवाहरुको मिसिल नहुँदा देखेर पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।


जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गर्दा हिरासतबाट भागेका धेरै थुनुवाहरुको मिसिल जलेर नष्ट भएको थियो । भदौ २४ मा फरार भएका थुनुवाहरु जसको मिसिल छ ,उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ भने मिसिलबिनाका फरार थुनुवाहरुलाई प्रमाणको अभावमा पक्राउ गर्न नसकेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा जेनजी आन्दोलनकारीहरुले आक्रमण गर्दा सबै मिसिल जलेर नष्ट भएको थियो । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ३२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये हालसम्म दुईजना थुनुवा मात्र पक्राउ परेका छन् । घटनास्थलको सर्जमिन मुचुल्काको अभावमा धेरै फरार थुनुवाहरुलाई पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले बताए । उनले केही फरार थुनुवाहरु सम्पर्कमा रहेको बताउँदै मिसिल बनाएर थुनुवाहरुलाई पक्राउ गर्न लागिएको जानकारी दिए । ‘ हामी मिसिल जगाएर फरार थुनुवाहरुलाई पक्राउको तयारी गरिरहेका छौं ’ उनले भने ,‘प्रमाणबिना पक्राउ गर्दा उनीहरुलाई कानुनीरुपमा कार्वाही गर्न सकिदैन । ’

जेनजी आन्दोलनका बेला झापाका तीनवटा प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये ७२ जनामाथि मुद्धा दर्ता भएको थियो भने २० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ३४ पुरुष र एक महिला गरी ३५ जना थुनुवा फरार भएकोमा हालसम्म एक महिला र १५ पुरुष गरी १६ जना पक्राउ परेका छन् । १९ जना अझै फरार छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना थुनुवा फरार रहेकोमा ४ जना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन् ।

बिर्तामोड , दमक र झिलझिले प्रहरी कार्यालयबाट दुई महिलासहित ७२ जना थुनुवा फरार रहेकोमा हालसम्म एक महिलासहित २२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । फरार रहेका ५० जनाको खोजी भइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्