झापा, पुष २ । आपराधिक कार्यमा संलग्न रही पक्राउ परेका हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा झापा २ को उम्मेद्वार बनेका थिए ।

२०७९ को निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका लामाले २८३ मत पाएका थिए । आपराधिक छवि हुँदाहुँदै अर्जुनधारा नगरपालिका ५ पानीकल बस्ने लामाको निर्वाचनमा उम्मेद्वारी दर्ता भएको थियो । अभियोग मात्र लागेर दोषी ठहर नभएसम्म जो कोहीले उम्मेद्वारी दिन पाउने निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए ।लामाले २०७९ को निर्वाचनमा आफ्नो परिचय यसरी दिएका थिए ।
उम्मेद्वारको परिचय
नाम :
देवराज लामा तामाङ (विश्वक्रान्ति)
ठेगाना : अर्जुनधारा न.पा.–५, पानीकल, झापा बु.न.पा.–११, काठमाडौं
शिक्षा : एम.ए. समाज शास्त्रमा त्रिचन्द्र कलेजबाट
पेशा : राजनीतिक/समाजसेवा
राजनीतिक शास्त्रमा पि. एचडी अध्ययनरत
अनुभवः पर्यटन, मानव अधिकार र सैन्य विज्ञान सम्बन्धी लामो अनुभव, लेख रचना, साहित्य सम्पादन तथा पत्रकारिता र अध्यापन
संलग्न : केन्द्रीय सदस्य बामबुद्धिजीवी परिषद विगतमा पहिलो राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिको उम्मेद्वार, प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको प्रतिनिधि–२०६५मा ,संयुक्त जातीय मुक्ति मोर्चा नेपालको प्रवक्ता तथा शान्ति वार्ता समितिको संयोजक–विगतमा
जेलजीवनः राजनीतिक मुद्दामा पटकपटक गरी ५ बर्ष ६ महिना
भ्रमण : क्यानडा, चीन, भारत, पाकिस्तान, अफगानिस्तान, दुबई, कतार आदि
कुमार, विश्वक्रान्तिका नामले चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो ।विश्व संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा रहेका बेला काठमाडौंसहित देशको विभिन्न स्थानमा बम विष्फोट गराएको अभियोग उनलाई रहेको छ ।
१५फागुन२०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट हुँदा ३ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।विगतमा पक्राउ परेर जेल चलान भएका उनलाई केन्द्रीय कारागारमा रहेका बेला २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि छुटेका थिए ।
पाँचथरमा बम विस्फोटका कारण एक जनाको ज्यान जाने गरि भएको घटनामा पनि उनी मुछिएका थिए ।जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि उनी पक्राउ परेको जनाइएको छ ।
पाँचथरमा एक बालिकाको ज्यान जाने गरि भएको बम विष्फोटको घटनामा उनी लामो समयदेखि फरार रहेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंको कपनबाट पक्राउ गरी थप अनुसन्धानको लागि उनलाई मंगलबारै पाँचथर पठाइसकेको बताइएको छ ।
यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष लामालाई निलम्बन गरेका छन् ।
बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन् ।
पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै निर्दोष सावित नभएसम्म उपाध्यक्ष पदबाट निलम्बन गरिएको बताएका छन् ।उनले भनेका छन्, ‘गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ, राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव हाम्रो तर्फबाट हुने छैन ।’
उनले अगाडि भनेका छन् ‘राज्यले निष्पक्ष छानबिन गर्नुपर्छ ।यदि उहाँ दोषी पाइएको खण्डमा कानुनबमोजिम कारबाही हुनुपर्छ तर यदि निर्दोष पाईएमा उहाँलाई दुःख दिन पाइँदैन ।’उनले आफ्नो पार्टीमा अरु दलहरुजस्तो विभिन्न घोटालामा जोडिएर पनि पदमै बसिरहने संस्कृति नभएको बताएका छन् ।



