झापा , पुष ४ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको यूट्युब च्यानलमा सार्वजनिक भएको छ।


संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको सुमधुर गायनले गीतलाई जीवन्त बनाएको छ।
गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन्। त्यस्तै एडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्।

गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा प्रस्तुत गरेको छ।
२०७५ मा शिला खनालले गीतकार राईको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई पत्रकारिता र साहित्यमा उत्तिकै सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।


रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। लघुकथाको प्रवर्द्धनमा सक्रिय उनी ‘लघुकथा सौन्दर्य’ का संस्थापक हुन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।

गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ।

‘शैक्षिक पैरवी’ र ‘नलिनी’ बाट उनले सम्पादन अनुभव पनि बटुलेका छन्। दश वर्षे शिक्षण अनुभवपछि काठमाडौं आएका राईका ‘इलाखिम’ चाम्लिङ शब्दकोश र एक लघुकथासंग्रह प्रकाशनको तयारीमा छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्