एजेन्सी । बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ।

गएराति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टारको कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्।
आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय छ। चुनावको पूर्वसन्ध्यामा भएको प्रदर्शनले अधिकारीहरूलाई चिन्तित बनाएको छ।
छ दिनसम्म उपचारपछि इन्कलाव मञ्चका प्रवक्ता सरिफ ओस्मान हादीको बिहीबार निधन भएको थियो। बंगलादेशमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। उनीमाथि गत साता शुक्रबार ढाकामा नकाबधारीले टाउकोमा गोली हानेका थिए।

गत वर्ष शेख हसिनाको सरकार ढाल्ने गरी भएको प्रदर्शनमा हादी अग्र मोर्चामा थिए। उनले बंगलादेशको राजनीतिमा भारतीय हस्तक्षेपको समेत चर्को विरोध गर्दै आएका थिए।
गएराति बंगलादेशका विभिन्न क्षेत्रमा आगजनी तथा तोडफोडका घटना भएका छन्। बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसले टेलिभिजन सम्बोधन गर्दै शान्त रहन जनतालाई आग्रह गरेका छन्।
उनले हादीको निधनले देशको राजनीतिक विकासमा गहिरो असर पारेको बताए। हादीमाथि गोली चलाउनेलाई छानबिन गरेर कठघरामा ल्याइने पनि उनले बताएका छन्।










