झापा, पुष ४ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका दुईजना थुनुवा पुनः लागूऔषधसहित पक्राउ परेका छन् ।


लागूऔषध मुद्धामा पक्राउ परी भदौ २४ गते दमक प्रहरीको हिरासतबाट भागेका राहुल श्रेष्ठ र बीरबहादुर पौडेल पुनः लागूऔषधसहित पक्राउ परेका हुन् । पौडेल पुष २ गते र श्रेष्ठ गत कात्तिक ८ गते पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले बताए । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ३२ जना थुनुवा फरार भएका थिए ।त्यसमध्ये हालसम्म ६ जना थुनुवा पक्राउ परेका छन् । लागूऔषध मुद्धाका सुशिलकुमार थापा( पुष १ गते) , ज्योति राई तामाङ (पुष २ गते , विष्णुप्रसाद बगाले (मंसिर २८ गते) र आशिष तामाङ (पुष ३ गते ) पनि पक्राउ परेका हुन् ।
जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवाहरुको मिसिल नहुँदा दमक प्रहरीले पक्राउ गर्न सकेको छैन ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा हिरासतबाट भागेका धेरै थुनुवाहरुको मिसिल जलेर नष्ट भएको थियो । भदौ २४ मा फरार भएका थुनुवाहरु जसको मिसिल छ ,उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ भने मिसिलबिनाका फरार थुनुवाहरुलाई प्रमाणको अभावमा पक्राउ गर्न नसकेको हो ।

घटनास्थलको सर्जमिन मुचुल्काको अभावमा धेरै फरार थुनुवाहरुलाई पक्राउ गर्न नसकिएको डीएसपी लम्सालले बताए ।उनले केही फरार थुनुवाहरु सम्पर्कमा रहेको बताउँदै मिसिल बनाएर थुनुवाहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको जानकारी दिए ।

दुई सातामा १३ फरार प्रतिवादी पक्राउ

यसैबीच दमक प्रहरीले करिव दुई साताको अवधिमा १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मंसिर १८ देखि पुष २ गतेसम्म १३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए । लागूऔषध , पशुपन्छीसम्बन्धी कसूर , चोरी , ज्यान मार्ने उद्योग , अभद्र व्यवहार र चेक अनादर मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतसमक्ष बुझाइएको हो ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं ३ भुटानी शरणार्थी शिविर सेक्टर डी ३ छाप्रा नं ३२४ बस्ने दावा तामाङ , सोही शिविरमा बस्ने खगेन्द्र दुलाल , दमक १ बस्ने दिनेश राई , बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी २ छाप्रा नं २१२ बस्ने तुलाराम मगर , दमक वडा नं १ बुद्धटोल बस्ने प्रदिप तामाङ , दमक वडा नं २ खरखरे टोल बस्ने सन्तोष राजवंशी , दमक वडा नं ३ ढुकुरपानी बस्ने ज्ञानेन्द्र चिमरिया , गौरादह १ बस्ने सुजन अधिकारी , सोही ठाउँका विशाल सुब्बा र दमक वडा नं २ बस्ने झिल्के भन्ने दिपक विक रहेका छन् ।

४६ जना थुनुवा अझै फरार

जेनजी आन्दोलनका बेला झापाका तीनवटा प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा फरार भएका थिए ।त्यसमध्ये ७२ जनामाथि मुद्धा दर्ता भएको थियो भने २० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ३४ पुरुष र एक महिला गरी ३५ जना थुनुवा फरार भएकोमा हालसम्म एक महिलार १५ पुरुष गरी १६ जना पक्राउ परेका छन् ।१९ जना अझै फरार छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना थुनुवा फरार रहेकोमा ४ जना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन् ।

बिर्तामोड , दमक र झिलझिले प्रहरी कार्यालयबाट दुई महिलासहित ७२ जना थुनुवा फरार रहेकोमा हालसम्म एक महिलासहित २६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । फरार रहेका ४६ जनाको खोजी भइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्