झापा, पुष ४ । धान र परालको ओभरलोडका कारण झापामा तीनवटा ट्रयाक्टरमा आगलागी भएको छ ।

ओभरलोडका कारण धान र पराल बिजुलीको तारमा छुँदा आगलागी भएको हो । आज दिउँसो ३ बजे कनकाई वडा न.८ खाडीबस्तीस्थित भित्री सडकखण्डमा सिमल चोकबाट अम्बे प्लाई फ्याक्ट्रीतर्फ जाँदै गरेको मे १ त ८२८४ न. को पराल लोड भएको ट्रयाक्टरमा बिजुलीको तार छुँदा आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट गएको टोली ,स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट ट्रयाक्टरमा क्षति नभएपनि पराल पूर्णरुपमा जल्दा अन्दाजी .१० हजार मूल्य बराबरको क्षति भएको छ । ट्रयाक्टर चालक अर्जुनधारा वडा न.५ बस्ने ३५ वर्षीय प्रेम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि पनि यस्तै दुईवटा घटना भएका थिए । पाँच दिनअघि कन्काई नगरपालिका–१ नमुना टोलस्थित भित्री सडकखण्डमा पराल बोकेको ट्रयाक्टरमा आगलागी भएको थियो ।

मंसिर २८ गते दिउँसो करिब १२ः१५ बजे नमुना चोकबाट हाईवेतर्फ जाँदै गरेको मे १ त ४४५५ नम्बरको ट्रयाक्टरमा बिजुलीको पोलको तार छोएपछि आगलागी भएको थियो ।आगलागीको खबर पाएर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिब १२ः३० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट ट्रयाक्टरमा लोड गरिएको पराल पूर्णरूपमा जलेको थियो भने ट्रयाक्टरको डाला तथा चालक बस्ने इन्जिनको भाग आंशिक रूपमा क्षति भएको थियो । घटनाबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
ट्रयाक्टर चालक कन्काई नगरपालिका–७ निवासी ३३ वर्षीय गणेश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मंसिर ६ गते साँझ ७ः३०बजे झापा गाउँपालिका वडा न.३ कामाटोली बस्ने शशी ठाकुरको खेतबाट मे १त ७८३३न.को ट्रयाक्टरको ट्रलीमा राखेको धान घरतर्फ लाने क्रममा बाटोमा रहेको बिद्युतीय तारमा ट्रलीको धान ठोक्किँदा आगलागी भएको थियो । उक्त आगलागीबाट अन्दाजी २५ मन धान पूर्णरुपमा जल्दा ३० हजार बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्