झापा, पुष ५ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट धमाधम उम्मेद्वारी दिने क्रम चलेको छ । कतिपयले आकांक्षा व्यक्त गरिरहँदा केही आकांक्षीहरु उम्मेद्वार बन्न आन्तरिक प्रतिष्पर्धामा सहभागी नै भएका छन् ।

विगतको निर्वाचन परिणामलाई हेर्दा रास्वपा झापामा तेस्रो शक्तिको रुपमा रहेको छ । गत निर्वाचनकै उम्मेद्वारहरु दोहोर्याउने योजनामा छन् ।
गत २०७९ सालको निर्वाचनमा झापा क्षेत्र नं ३ मा रास्वपाबाट उम्मेद्वार बनेका प्रकाश पाठक यस पटक पनि उम्मेद्वार बन्ने तयारीमा लागिसकेका छन् । झापाका कार्यवाहक सभापति रहेका पाठकले उम्मेद्वारीका लागि आन्तरिक प्रतिस्पर्धामा प्रस्ताव पेस गरिसकेको बताए । गत चुनावमा उनले ३४६१ मत ल्याएका थिए । सोही क्षेत्रबाट रुद्र भट्टराईले पनि प्रस्ताव हालेका छन् ।
त्यस्तै क्षेत्र नं १ बाट अहिलेसम्म प्रस्ताव पेस नभएपनि ओमनाथ भण्डारी र आसिम दाहाल आकांक्षी देखिएका छन् । गत निर्वाचनका उम्मेद्वार ओमनाथ भण्डारीले ८५६४ मत ल्याएका थिए ।
त्यस्तै क्षेत्र नं २ बाट दिपक दाहालले प्रस्ताव पेस गरेका छन् । उनीसंगै इन्दिरा राना मगर, निशा डाँगी, निरज गौली, शेखर भट्टराई आकांक्षी देखिएका छन् । गत निर्वाचनमा क्षेत्र नं २ बाट रुद्रप्रसाद गिरीले ८७८१ मत पाएका थिए ।
त्यस्तै क्षेत्र नं ४ बाट शम्भुप्रसाद ढकालले उम्मेद्वारी पेस गरेका छन् । गत निर्वाचनमा उनले १४ हजार ६९ मत ल्याएका थिए । अरु आकांक्षी देखिएका छैनन् ।
क्षेत्र नं ५ बाट कसैको उम्मेद्वारी परेको छैन । त्यहाँ यज्ञमणी न्यौपाने र प्रविण पाठक आकांक्षी देखिएका छन् । गत निर्वाचनमा त्यस क्षेत्रबाट सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएका थिए ।



