झापा, पुष ५ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट भागेका दुईजना थुनुवा एकैदिन पक्राउ परेका छन् ।


आज पक्राउ पर्नेहरुमा गौरादह बस्ने बर्ष २५ का लुखीराम बास्के र कमल –५ बस्ने बर्ष २६ का संजिव लिम्बू रहेका छन् । दुवैजनामाथि लागूऔषधको मुद्धा रहेको छ । दुवैजना भदौ २४ गते जेनजी आन्दोलनका बेला दमक प्रहरीको हिरासतबाट भागेका थिए ।

आज साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट गएको टोलीले बास्केलाई गौरादह १ बाट नियन्त्रणमा लिएको हो । त्यस्तै इप्रका दमकबाट खटिएको टोलीले बिहान ९ः३० बजे कमल–५ बाट लिम्बूलाई नियन्त्रणमा लिएको जनाएको छ । दुवैलाई इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको छ ।

जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ३२ जना थुनुवा फरार भएका थिए ।त्यसमध्ये हालसम्म ८ जना थुनुवा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवाहरुको मिसिल नहुँदा दमक प्रहरीले पक्राउ गर्न सकेको छैन ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा हिरासतबाट भागेका धेरै थुनुवाहरुको मिसिल जलेर नष्ट भएको थियो । घटनास्थलको सर्जमिन मुचुल्काको अभावमा धेरै फरार थुनुवाहरुलाई पक्राउ गर्न नसकिएको डीएसपी लम्सालले बताए ।उनले केही फरार थुनुवाहरु सम्पर्कमा रहेको बताउँदै मिसिल बनाएर थुनुवाहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको जानकारी दिए ।

जेनजी आन्दोलनका बेला झापाका तीनवटा प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा फरार भएका थिए ।त्यसमध्ये ७२ जनामाथि मुद्धा दर्ता भएको थियो भने २० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ३४ पुरुष र एक महिला गरी ३५ जना थुनुवा फरार भएकोमा हालसम्म एक महिलार १७ पुरुष गरी १८ जना पक्राउ परेका छन् ।१७ जना अझै फरार छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना थुनुवा फरार रहेकोमा ४ जना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन् ।

बिर्तामोड , दमक र झिलझिले प्रहरी कार्यालयबाट दुई महिलासहित ७२ जना थुनुवा फरार रहेकोमा हालसम्म एक महिलासहित ३० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । फरार रहेका ४२ जनाको खोजी भइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्