कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन (नेवाए) हो। बाइस हजारभन्दा बढी कानुन व्यवसायी र ९५ भन्दा बढी बार इकाइ यो साझा संगठनमा आवद्ध रहेका छन्। वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र अध्यक्ष र वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवसहितको केन्द्रीय समिति क्रियाशील छ ।

यो संस्था कानुन व्यवसायी देवनाथ कुमार बर्मा (रौतहट) को अध्यक्षतामा २०१३ साल पुष ७ गते स्थापना गरिएको हो। २०५० साल फागुन ६ गते पोखरामा सम्पन्न भएको नेबाएको छैटौ सम्मेलनले एक प्रस्ताव पारित गरी एसोसिएसनको जन्म भएको दिनको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्षको पुष ७ गतेका दिन औपचारिक रुपमा बार दिवस/ बार डे मनाउने गरिएको छ। यस बर्ष पुष ७ गते विविध कार्यक्रम गरी ७० औं बार डे २०८२ मनाइदै छ ।

बिडम्बना २०८२ साल भाद्र २३ र २४ गतेको जेनजी युवाको रुपान्तरणकारी आन्दोलनले नेपाल बार एसोसिएसनलाई पनि अछुतो राखेन। संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, पेशागत हक अधिकारको संरक्षण र क्षमता अभिबृद्धि गर्न स्थापित नेबाएको केन्द्रीय कार्यालय पनि तोडफोड र आगजनीमा पर्‍यो । साथसाथै नेबाएका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको ल फर्म तथा नेवाएका पूर्व महासचिव वरिष्ठ अधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता रामनारायण विडारीको घर जले।

ऐतिहासिक निरकुंश शासनका विरुद्ध आवाज उठाइ जनताले न्याय पाउनु पर्छ भनी न्यायिक सुधारका लागि लडिरहेको यो संस्था जेनजी आन्दोलनको निशानामा किन पर्‍यो ? यो संस्थामा समेत भाद्र २४ गते तोडफोड र आगजनी किन भयो ? नेबाएमा पनि बिकृति विसंगति छन् त ? के नेबाए पनि रुपान्तरण, पुस्तान्तरण हुनु पर्ने त होइन? जेनजी आन्दोलनपछि नेबाएका चुनौती के के छन् त ? नेबाएको अबको बाटो के हुनसक्छ ? अनुत्तरित यी प्रश्नमा यो लेखमा विश्लेषण गरिएको छ।

नेपालमा भ्रष्टाचारविरुद्ध र सरकारको नयाँ नियम अन्तर्गत दर्ता हुन नआएका फेसबुक, इन्स्ट्राग्राम, ह्वाटसएप,ट्वीटर, युट्युभ लगायतका २६ वटा सामाजिक सञ्जालको प्रतिबन्ध बिरुद्धमा भन्दै जेनजी पुस्ताले थालेको सडक आन्दोलनले नेपालको राजनीति उथलपुथल भयो।

शुरुमा भ्रष्टाचारयुक्त शासनशैली, दलीय नेताहरूको आजीवन सत्तामा टिकिरहने आकांक्षा, तिनका सन्ततिहरूको भयङ्कर विलासी जीवनशैली, नातावाद, कृपावाद जस्ता विकृतिहरूप्रति लक्षित यो आन्दोलनले विशिष्ट उचाइ त्यतिबेला लियो, जतिबेला सत्तासीन नेतृत्वले निर्मम तरिकाले कलिला विद्यार्थीहरूको टाउकोमा गोली बर्साउन थाल्यो। भाद्र २३ गतेको अक्षम्य नरसंहारपछि भाद्र २४ गते जेनजी विद्रोहले भयानक रूप लियो, जसको कारण विभिन्न स्वार्थ समूहको समेत उपस्थितिमा राष्ट्रका अमूल्य धरोहरहरूमाथि आगो लगाएर ध्वस्त पारियो।

मुलतः दुई दलीय अप्राकृतिक गठबन्धनबाट निर्माण भएको सन्काहा शासक खड्गप्रसाद ओलीको निरङ्कुश सरकार अपदस्थ भयो । प्रविधिमा हुर्किएका नयाँ युवा पुस्ता जेनजीको आन्दोलनको क्रममा राजनीतिक परिवर्तन भई राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रतिबन्धात्मक ब्यबस्था बमोजिम सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो। जेनजीको समर्थनमा नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भै २०८२ भाद्र २७ गते शुक्रबार प्रतिनिधि सभा बिघटन र फागुन २१ गते निर्वाचन मिति घोषणा भयो।

जेनजी पुस्ता सन् १९९७ देखि २०१२ सम्म जन्मिएका र युट्युभ, टिकटक,इन्स्ट्राग्राम ,ह्वाट्सएपसँगै हुर्किएका पुस्ता र जेन–अल्फा सन् २०१३ देखि २०२४ सम्म जन्मिएका र युट्युभ , टिकटक, इन्स्ट्राग्राम, ह्वाट्सएप प्रविधिमै जन्मिएका हुर्किएका पुस्ताको रूपान्तरणकारी आन्दोलनबाट सिंहदरवार, सर्वोच्च अदालत र नेबाएको भवनमा समेत ठूलो क्षति र असर पर्‍यो।
हुन त, विश्वमा जेनजी पुस्ताले सन २०२४/२०२५ मा बंगलादेश, केन्या, मङ्गोलिया, सर्विया, इन्डोनेसिया, माली, युक्रेन, फ्रान्स आदि देशमा भ्रष्टाचार, आर्थिक असमानता, महंगी, अलोकतान्त्रिक शासन, जलवायु परिवर्तनविरुद्ध आवाज उठाएको, आन्दोलन र अभियान चलाइ पहिचान खोज्न थालेको देखिन्छ।

जेनजी आन्दोलनको इतिहास हेर्दा, यसको विशेषता भनेको– नेतृत्वविहीन आन्दोलन हुने, आन्दोलनको वैधतामा प्रश्न उठ्ने, जनसमर्थन कमजोर पार्न आन्दोलनमा घुसपैठ हुने, आन्दोलन हिंसात्मक, चरमउत्कर्ष र अव्यवस्थित भै भबिष्यमा के गर्ने भन्ने योजना र कार्यक्रमको अभाव हुने जस्ता नकारात्मक विशेषता पनि देखिएको छ।

नेपालमा जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले २०८२ भाद्र २३ गते शुरु गरेको सडक आन्दोलनले संसद भवन कब्जा गर्न जाँदा प्रहरीसंग मुठभेड भयो। युवाहरु “एउटी आमाले जन्माइन् अब देश आमाको लागि छातीमा गोली खान तयार छौ“ भन्दै सडकमा उत्रिए, हतियार बोक्नेसंग कलम बोकेर आएका विद्यार्थीको केही जोर चलेन, १९ जना युवाहरू शहीद भए । भाद्र २४ गते दोस्रो दिन सामाजिक सञ्जाल खुल्ला भएपछि जेनजी आन्दोलनको भिडियोहरू भाइरल भै सडकमा जेनजीहरुको ओइरो लाग्यो। पब्जी, फ्रिफायर जस्ता मोवायल गेमहरुमा लडाई गर्ने, आगो लगाउने, बन्दुक चलाउने, गेम खेल्ने जेनजीहरु निडरतापूर्वक आन्दोलनमा आए। अर्कोतिर जेनजीको आन्दोलनमा सरकार विरोधी राप्रपा, रास्वपा, माओवादी समर्थक जेनजीहरु मिसिए। आन्दोलनले एकाएक शहरी विद्रोहको फ्यूजन गर्यो। आन्दोलनले उग्र रुप लिएपछि अप्राकृतिक गठबन्धनमा रहेको अहंकारी नालायक सरकारका प्रधानमन्त्री खड्ग ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए।

उता नेपाली सेना सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण कार्यालय जोगाउन नलागी ओलीलाई हेलिकोप्टर पठाई उद्धार गर्यो। त्यसपछि जेनजीहरुको मनोबल ह्वात्त बढ्यो भने प्रहरीहरूले के गर्ने, के नगर्ने आदेश पाउन सकेनन् र जेनजीहरु हावी भए। क्रमशः प्रदर्शनकारीको भिड राज्यका प्रमुख अंग कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिकाका कार्यालयहरूमा प्रवेश गरी अनपेक्षितरुपमा तोडफोड र आगजनीका दुखद घटना भए। यसको प्रभाव नेबाएमा समेत पर्‍यो।

जेनजी आन्दोलनबाट सिर्जित नेबाएको चुनौती र नेबाएको अबको बाटो

गठबन्धन सरकारको तानाशाही चरित्रका कारण अब क्रान्ति अपरिहार्य छ भन्ने साझा भावना अनुसार युवा पुस्ता प्रत्यक्ष स्वचालितरूपमा सडकमा ओर्लिन आउनुपर्यो ।

यसक्रममा नेबाएको भवन तोडफोड र आगजनी र कानून ब्यवसायीको घर र पेशागत कार्यलय निशानामा परेबाट युवावर्ग सरोकारवालाको नेबाए र कानुनी पेशामा समेत असन्तुष्टी रहेको तथ्य लुकाइरहन परेन।

नेबाएको विगतको क्रियाकलाप हेर्दा समयमै अन्यायको विरुद्ध न्यायको वकालत नगरी नेबाए संस्था पनि भ्रष्ट, माफिया र दलालको इसारामा राजनीतिक भागबण्डाका हकदार र साक्षी हुन पुगेको देखिन्छ। संवैधानिक सर्वोच्चता, विधिको शासनको वकालत गर्ने यो संस्था राजनीतिक दलको स्वार्थ प्रेरित भाग पाउन र मुकदर्शक हुन खोजेको देखियो। अदालती फैसलामा ढिलासुस्ती, वकालतबाट झन् महँगो न्याय हुन पुग्नु, संविधानको पहरेदार, खबरदार र निगरानी नगरी नेबाएले आफ्नो ऐतिहासिक साख ओझेलमा पारी संघीय गणतन्त्र संस्थागत गर्न नलाग्नु नै तोडफोड र आगजनीको दुर्भाग्य भोग्न पर्यो।

आज जेनजी आन्दोलनले नेबाएलाई पुनः इतिहासको मोडमा उभ्याएको छ। यो संकट र अवसरलाई सुधार, रुपान्तरण, पुस्तान्तरणको अवसरको रुपमा लिनु पर्छ।

प्रतिनिधि सभा विघटन सिफारिस र निर्णयले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प्रहार भएको र लामो संघर्षपछिको प्राप्त गणतन्त्रलाई अब प्रतिक्रियावादी तत्वहरूबाट कमजोर बनाउने र संघीयताको उपलब्धी खोस्ने प्रयास हुनसक्छ ।
२०६९ सालमा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषदको गठन र राजनीतिक दलका नेताको सहमतिमा संविधानमा संशोधन गरेको इतिहास छ। अतः युवा पुस्ता र राज्य बीचमा विश्वास र सहकार्यबाट यो विषम र अकल्पनीय परिस्थितिको दीर्घकालीन समाधान हुने देखिन्छ।

त्यस्तैगरी एकातिर नेपाल बार एसोसिएसन (नेबाए) पनि जनताको बार हुन सकेको छैन। यो संस्था त केवल एमाले र कांग्रेसको बार मात्र हो, बार त दलका नेताले गरेको विकृति र दलालीको साक्षी मात्र हो भन्ने आलोचनाबाट मुक्त हुनु पर्दछ । अर्कोतिर नेबाएमा आवद्ध कानुन व्यवसायीको पनि व्यवहार र चरित्र पारदर्शी, जनविश्वासी र सम्मानयोग्य छ छैन? दलाली, घुसखोरी, स्त्रीलम्पट चरित्रहीन व्यक्ति नेबाए संस्थाको नेतृत्वमा वा सस्था वरिपरि तर मार्न, राजनीतिक भागबन्डा लिन, पेशाको मर्यादाविपरित हिँडेको भन्ने आरोप छ। त्यस्ता आचरणहीन वकिललाई चिनेर दण्डको दायरामा ल्याउनुपर्ने समेत देखिन्छ। जसका लागि नेबाएको वर्तमान नेतृत्वको विकल्पमा युवा पुस्ताको आमन्त्रण जरुरी छ।

हामी कानुनी पेशामा संलग्न बौद्धिक वर्गले जेनजीको आन्दोलनका क्रममा राज्यद्वारा मारिएका अवोध विद्यार्थी, आन्दोलनको निष्पक्ष छानविन, पीडित परिवारलाई क्षतिपूर्ति, भ्रष्टाचार नियन्त्रण, सरकार र निति निर्माणमा युवाको सहभागिता प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, दलगत स्वार्थ र भागबण्डाको अन्त्य, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य, विधिको शासन, मानव अधिकार जस्ता पक्षमा वकालत र बहस पैरवी गर्नु आवश्यक हुन्छ।

संघीय संरचनामा मुलुक गएको १० बर्ष बित्यो । न्यायपालिका र नेबाएको संरचना भने केन्द्रिकृत स्वरुपको नै छ। संघीयता आएपछि न्यायालय र बार एसोसिएसनमा पुनरावेदनको सट्टा उच्च भनी सामान्य परिवर्तन गरियो। अब केन्द्रीय जिम्मेवारीलाई प्रदेश तहमा समेत अधिकार र शक्ति बाँडफाँड हुनु जरुरी छ।

अन्त्यमा,
प्रत्यक्ष निर्वाचित सरकार प्रमुख, निर्वाचन प्रणाली, संघीयताका मोडेल, न्यायप्रणाली जस्ता प्रावधानमा जनताका असन्तुष्टी सम्वोधन गर्न जननिर्वाचित सरकारलाई जिम्मा दिनुपर्छ । राजनीतिक दलले राजनीतिमा पुस्तान्तरणलाई आमन्त्रण गर्नुपर्छ। जेनजी आन्दोलनको मर्मअनुरूप राजनैतिक दलमा मात्र होइन, नेबाएको नेतृत्वमा समेत पुस्तान्तरण हुनु पर्दछ । जेनजी पुस्ताको नेतृत्वलाई विकल्पका रुपमा ल्याइ नेबाए समेत पुस्तान्तरण र रुपान्तरण भएमा मात्र यो विषम र असाधारण परिस्थितिमा नेपाल बार एसोसिएसन दिवस (बार डे) को भूमिका सार्थक ठहर्छ।
(लेखक बस्नेत अधिवक्ता तथा झापा बार इकाइका सहसचिव र झापा बार महिला समिति अध्यक्ष हुन् । )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्