झापा, पुष ८ । इन्टरनेटको तारमा अल्झिएर झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा स्कुटी दुर्घटना हुँदा चालकको मृत्यु भएपछि तार चुडाउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत भदौ १९ गते मध्यान्ह १२ बजे सुरुङगाबाट कामाटोलीतर्फ आएको ना५ख४७०५ नं.को ट्रकले इन्टरनेटको तार चुडाएको थियो । सोही लत्रिएको तारमा अल्झिएर शरणामतिबाट झापा बजारतर्फ आउँदै गरेको प्र.१–०१–०१७प८६२४नं.को स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक झापा गाउँपालिका वडा नं.६ बस्ने बर्ष५५का सहरमान कटुवाल घाइते भएका थिए । करिव चार महिनापछि उनको हिजो राति मृत्यु भएको हो ।
प्रहरीले ट्रक र चालक बारा निजगढ नगरपालिका वडा नं.११ बस्ने बर्ष४१का रतनलाल तामाङलाई नियन्त्रणमा लिएको हो । ट्रक इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ भने चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
भदौ १९ गते घाइते भएका कटुवाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । त्यहाँबाट गत कात्तिक ९गते थप उपचारको लागि केएमसी अस्पताल काठमाण्डौ लगिएको थियो । उपचारपछि उनलाई गत मंसिर २२ गते घर ल्याइएको थियो । घरमै उनको निधन भएको हो ।



