झापा, पुष ८ । कठ्यांग्रिदो चिसो मौसममा झापाको बिर्तामोड राजनीतिक माहौलले तातिने भएको छ । किनकि बिर्तामोडमा भोलिदेखि पुष १२ गतेसम्म चार राजनीतिक दलको प्रदर्शन र सभा हुने भएको हो ।

नेकपा एमाले , नेपाली कम्युनिष्ट पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले बिर्तामोडमा एकपछि अर्को गर्दै कार्यक्रम आयोजना गर्दैछन् । भोलि चुनावी अभियानका लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ बिर्तामोड आउँदै छन् ।
बिर्तामोडको सिटी सेन्टरमा झापा जिल्ला स्तरीय सभालाई सम्बोधन गर्नका लागि उनी आउन लागेका हुन् । सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति झापाले जनाएको छ ।
त्यस्तै नेकपा एमाले झापाले पर्सी पुष १० गते बिर्तामोडमा खबरदारी कार्यक्रम गर्दैछ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानका लागि बोलाउन लागेपछि त्यसको विरुद्धमा एमालेले खबरदारी कार्यक्रम गर्न लागेको हो । सो दिन बिर्तामोडसंगै दमकमा पनि खबरदारी कार्यक्रम राखिएको जिल्ला अध्यक्ष प्रेम गिरीले बताए ।
त्यस्तै पुष १२ गते एकैदिन दुईवटा दलको कार्यक्रम हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोडमा जनजागरण सभा गर्ने भएको छ ।जनजागरण सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन नेपाली कम्युनिष्ट पार्टीले पनि बिर्तामोडमा कार्यक्रम राखेको छ । नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभालाई संबोधन गर्न नेता भीम रावल आउँदै छन् ।



