झापा, पुष ८ । इन्टरनेटको तारमा अल्झिएर झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा स्कुटी दुर्घटना हुँदा मृत्यु भएका चालक सहरमान कटुवालको घटनाको जिम्मेवारी कसले लिने भनेर अन्यौल देखिएको छ ।

गत भदौ १९ गते वर्ल्डलिंक र टेकमाइन्ड इन्टरनेट कम्पनीका तार ना५ख४७०५ नं.को ट्रकले चुडाएपछि सोही तारमा अल्झिएर स्कुटी चालक झापा गाउँपालिका वडा नं.६ बस्ने बर्ष ५५का सहरमान कटुवाल घाइते भएका थिए । करिव चार महिनापछि उनको हिजो मृत्यु भएको हो । प्रहरीले अहिलेसम्म कसैमाथि कार्वाही अघि बढाएको छैन ।
तार चुडाउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भनेपनि सम्पर्कमा मात्र रहेको बुझिएको छ ।सुरुङगाबाट कामाटोलीतर्फ आएको ना५ख ४७०५ नं.को ट्रकले इन्टरनेटको तार चुडाएको स्थानीयले जानकारी गराएपछि उक्त ट्रकलाई घटना भएको भोलिपल्ट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको थियो भने ट्रक चालक बारा निजगढ नगरपालिका वडा नं.११बस्ने बर्ष४१का रतनलाल तामाङलाई थप कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको थियो । तर ट्रक चालक तामाङ कागज गरी सोही दिन ट्रक लिएर गएका छन् ।
स्कुटी चालकको मृत्युपछि ट्रक चालक तामाङ सम्पर्कमा रहेको तर पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै वर्ल्डलिंक र टेकमाइन्ड इन्टरनेट कम्पनीका प्रतिनिधिहरु पनि सम्पर्कमा रहेको जनाइएको छ ।
सवारी ज्यानसम्बन्धी कसुरमा कसलाई मुद्धा दिने भनेर अन्यौल देखिएको एक प्रहरी अधिकृतले बताएका छन् । उनले अहिलेसम्म मौखिक उजुरी मात्र परेको र जाहेरी नपरेको जानकारी दिए ।
घाइते भएर कटुवाललाई चार महिनासम्म उपचार गर्दा करिव एक करोड रुपैयाँ खर्च भएको र सो उपचार खर्च आफूहरुले पाउनु पर्ने पीडित परिवारको माग रहेको बताइएको छ । त्यति धेरै रकम तिर्न ट्रक चालक र इन्टरनेट कम्पनीहरु तयार छैनन् । आपसी छलफलद्वारा त्यस घटनालाई मिलाउन लागिएको प्रहरीले जनाएको छ ।



