झापा, पुष ९ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको अचानक मृत्यु भएको छ ।

इलाम जिल्लाको माईजोगमाई गाउँपालिका ३ नाम्सालिङ घर भई फुङलिङ नगरपालिका ५ बिरेन्द्र चौकमा डेरा बस्दै आएका उनको अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार घरमै बसिरहेको अवस्थामा अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको थियो । चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको र मृतकको शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको गौतमले बताए ।
मृतक देवानकी श्रीमती सन्तोषी थापासमेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको कन्ट्रोलरुम सञ्चार शाखा दरबन्दीमा सरुवा भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट गत कात्तिक २३ गते उनले रमाना बुझेका थिए ।



