झापा, पुष ९ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाले मेचीनगरमा समुदाय विपद् स्वयंसेवक तालिम संचालन गरेको छ ।


सशस्त्र प्रहरीले समुदाय विपद् स्वयंसेवक तयार पार्ने उद्धेश्यले कचनकवलपछि मेचीनगरमा आजदेखि १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालन गरेको हो ।

मेचीनगर नगरपालिकाको सभाहलमा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलाल, सशस्त्र प्रहरी बल,नेपाल नं. १ वराह वाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले सो तालिमको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।


तालिम उद्घाटन कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले स्वागत मन्तव्यसहित तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनका अनुसार खोज तथा उद्धारमा खटिने समुदायका स्वयंसेवकको क्षमता विकास गर्नुका साथै विपद् स्वयंसेवकहरुलाई स्तरीय आधारभूत तालिम प्रदान गर्न यो तालिम संचालन गर्न लागिएको हो । यस तालिमद्वारा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा घट्न सक्ने सम्भावित विपद्हरु, प्राथमिक उपचार, भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार, जल उत्पन्न प्रकोप र त्यसमा गरिने उद्धार, डोरीद्वारा गरिने उद्धार, अग्नि नियन्त्रणलगायत विविध विषयहरु समावेश गरी सैद्धान्तिक तथा व्यवहारिक दुबै पक्षमा ज्ञान प्रदान गरिने उनले बताए । उक्त तालिममा मेचीनगर नगरपालिकाका नगर प्रहरी १५ जना र मेचीनगर नगरपालिकाका सम्पूर्ण वडावाट १/१ जना गरी १५ जना स्वयंसेवक छनौट गरी कुल ३० जना प्रशिक्षार्थीहरु सहभागी रहने सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए ।

यसअघि सशस्त्र प्रहरीले गत जेठ ३० गतेबाट असार १९ गतेसम्म कचनकवल गाउँपालिकाका १४ जनालाई त्यस किसिमको तालिम दिएको थियो । अन्य पालिकाहरूमा समेत यस्तो तालिम आवश्यक रहेको बताउँदै सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले तालिम सफलताको शुभकामनासमेत दिएका थिए ।

त्यसैगरी नेपाल रेडक्रस सोसाईटी जिल्ला झापाका सभापति लोकराज ढकालले विपद् व्यवस्थापनको पूर्वतयारी स्वरूप गरिने यस्ता तालिमहरुले विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै तालिमको सफलताको शुभकामना दिए ।

त्यसैगरी विशिष्ट अतिथि सशस्त्र प्रहरी बल,नेपाल नं. १ वराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले विपद्जन्य घटनाहरुमा तत्काल प्रथम प्रतिकार्य, खोज तथा उद्धार गर्न समुदायको क्षमतालाई अभिवृद्धि गरी समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ समुदाय विपद् स्वयंसेवक तयार गर्ने लक्ष्य अनुरुप संचालन भएको तालिमको सफलताको शुभकामना दिए।

बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलालले आफ्नो मन्तब्य राख्ने क्रममा यस क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सृजित विपद्को जोखिम उच्च रहेकोले त्यस्ता चुनौतीहरूलाई सामना गर्न समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु एक महत्वपूर्ण उपलब्धी हुने बताए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले यस प्रकृतिको तालिम आफ्नो पालिकामा संचालन गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए । उनले यस तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त हुने सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भोलीका दिनहरूमा हुनसक्ने विपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग प्रदान गर्ने बिश्वास ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्