झापा, पुष १० । मोटरसाइकल दुर्घटनामा परी कोशी प्रदेश क्रिकेट टोलीका कप्तान २७ वर्षीय मिनाश थापाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको हो ।
एयरपोर्टबाट गणेशचोकतर्फ जाँदै गर्दा थापा सवार १–०२–०४२ प– ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीका अनुसार थापा विराटनगर महानगरपालिका–५ निवासी हुन्। क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेको परिवारले जनाएको छ।



