झापा, पुष १० । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसंग झापा ५ मा निर्वाचन लड्ने बालेन शाहको अभिव्यक्तिले तरंग ल्याएको छ ।

खासगरी झापाका नागरिकहरुमा यतिबेला यो चर्चाको विषय बनेको छ । सर्वसाधारणहरु बालेनको अभिव्यक्तिबाट उत्साहित बनेका छन् भने एमाले नेता कार्यकर्ताहरु बालेनप्रति आक्रोशित देखिएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने चेतावनी दिएका छन् ।उनले बालेनले केपी ओलीसंग चुनाव लड्ने भनेर सुनिरहेकोले यदि आँट भए चुनाव लडेर देखाउन बालेनलाई चुनौती दिए । झापाबाट चुनाव लडे बालेनको हालत पत्ला हुने उनको चेतावनी थियो । नेकपा एमाले झापाले आयोजना गरेको सरकारविरुद्धको खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद र अशुभ हुने बताए ।

उनले असंवैधानिक सुशीला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छोड्ने गरी एमाले सडकमा आएको बताए । ‘विदेशी शक्तिहरुको इसारामा देशलाई सिध्याउने खेल स्वीकार्य छैन’ उनले भने,‘ एमालेले संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याएर छोड्नेछ ।’ जबसम्म प्रतिगमनकारी षडयन्त्रकारी तवरले नेकपा एमाले र अध्यक्ष ओलीमाथि दुःख दिने काम भैरहन्छ ,तवसम्म एमालेले आन्दोलन गरिरहने उनले बताए ।

यस्तै, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरुलाई तह लगाउन एमाले टाउकोमा कात्रो बाँधेर सडकमा निस्किएको बताए । उनले संविधान मिच्ने, विदेशीको गतिविधि टुलुटुलु हेरेर नसक्ने बताउँदै खवरदारी गरेका छन् । नेपाली जनतामाथि गिद्धे दृष्टि लगाए प्रतिकार गरेर देखाइदिने चेतावनी दिए ।

बिर्तामोड १ स्थित पश्चिम स्टेण्डबाट जिल्ला अध्यक्ष प्रेम गिरीको नेतृत्वमा करिव २५० जनाको उपस्थितिमा विभिन्न बिरोध लेखिएका प्लेकार्ड बोकी नारा लगाउँदै सुरु भएको र्‍याली मुक्तिचोक हुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो ।

त्यस्तै दमकको आकाशे पुलबाट पूर्वमन्त्री देबेन्द्र दाहाल , झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीलगायत करिव ६० जनाको उपस्थितिमा दमकमा खबरदारी र्‍याली निकालिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्