बिर्तामोड, पुष ११ । बिर्तामोड नगर खेलकुद विकास समितिद्वारा आयोजित वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं ३ र १० भिड्ने भएका छन् ।

आजको जितसंगै वडा नं ३ ले कम्तीमा ५० हजार रुपैयाँ पुरस्कार निश्चित गर्दै वडा नं १० संगको फाइनल भेट पक्का गरेको हो । वडा नं ५ संगको अन्तिम सेमिफाइनल खेलमा वडा नं. ३ ले जितका लागि सडेनडेथको सहारा लिनुपरेको थियो ।
सडेनडेथमा वडा नं. ३ का प्रयास बुढाथोकीले गोल गरेका थिए भने वडा नं. ५ का रमेश श्रेष्ठको प्रहार गोलकिपर अभिषेक बरालले बिफल बनाएका थिए ।

निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ५ का अङ्कुर खड्गी, मोहन गुरुङ, राजकुमार बिक र सुुजन बिकको प्रहार गोलमा परिणत भएको थियो । बिक्की चौधरीको प्रहार बाहिरिएको थियो ।

वडा नं. ३ का आशिष चापागाई, सुमेरु थापा, विशाल धिमाल र सन्तोष राईले गोल गरेका थिए भने कप्तान विशाल मर्डीको प्रहार बारमा लागेर फर्किएको थियो ।

खेलको प्लेयर अफ द म्याच वडा नं. ३ का गोलकिपर अभिषेक बराल भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए । आइतबार हुने फाइनल खेलमा वडा नं. १० र ३ बीच प्रतिष्पर्धा हुने छ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ७ लाई ३–१ गोल अन्तरले हराउँदै वडा नं. १० फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताभरिको उत्कृष्ट एकजना खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट मिडफिल्डरलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव बिसन लिम्बूले जानकारी दिए ।

यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड–५ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ लाई ३–१ ले पराजित गर्दै वडा नं. ५ फाइनलमा प्रवेश गरेको हो ।

वडा नं. ५ ले आइतबार हुने फाइनलमा वडा नं. १० को सामना गर्ने छ । वडा नं. ५ को जितमा अङ्कुर खड्गीले ह्याट्रिक पुरा गरे । खड्गीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे ।

बिर्तामोड–३ का लागि एकमात्र गोल डेनी श्रेष्ठले गरे । अरु स्ट्राइकर चल्न नसक्दा बिर्तामोड–३ सेमिफाइनलबाट बाहिरियो । खेलको प्लेयर अफ द म्याच बिजेता वडा न ५ का ह्याट्रिककर्ता अङ्कुर खड्गी भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा नगरपालिकाका ९ वडाका टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । भेट्रान्सको बिजेताले २५ हजार, उपविजेताले १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्