झापा, पुष १३ । उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।

उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् ।
उपसभामुख रानाले दुइवटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।
संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा समानुपातिकतर्फको बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने उल्लेख छ । निर्वाचन आयोगका अनुसार आजदेखि समानुपातिक बन्दसूची बुझाउने समय सुरु भएको छ । पुष १४ गतेसम्म बन्दसूची बुझाउने समय छ ।
उपसभामुख रानाले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारेकी छन् । नेपालको संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्थाको उपदफा ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ ।



