झापा, पुष १५ । केही दिनदेखिको शितलहरका कारण अत्यधिक चिसो बढेपछि झापाका चारवटा पालिकाले विद्यालय बन्द गरेका छन् ।

बिर्तामोड नगरपालिका , मेचीनगर नगरपालिका , बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले भोलिदेखि तीन दिनसम्म विद्यार्थीहरुलाई जाडोको विदा दिएका हुन् । अत्यधिक जाडो बढेकोले भोलिदेखि पुष १८ गते शुक्रबारसम्म हिउँदे/बर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयका अन्य कार्यक्रम बाहेक नियमित पठन–पाठन बन्द गरिएको ती पालिकाहरुले जनाएका छन् ।
जिल्लाका अन्य पालिकाहरुले पनि मौसम हेरेर जाडोको विदा दिने विषयमा भोलि निर्णय गर्ने भएका छन् । आज सार्वजनिक विदा भएकाले जाडो विदाका बारेमा निर्णय गर्न नसकिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । उनले भोलि निर्णय गरेर जाडोको विदा दिइने जानकारी दिएका छन् ।



