झापा, पुष १५ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा मगर दम्पतीको वीभत्स हत्या भएको छ ।


स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको गएराति हत्या भएको हो । बिहान अबेरसम्म घरबाट ननिस्किएपछि छिमेकीले बोलाउँदा प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गर्दा दुवै जनाको शव फेला परेको थियो ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा टोली घटनास्थल पुगेको छ । प्रारम्भिक अनुसन्धानबाट दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ ।

घटनास्थल र शवको अवस्था विश्लेषण गरी थप अनुसन्धान गर्न कोशी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको र दोषी पहिचानका लागि सबै सम्भावित कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्