झापा, पुष १५ । आगामी निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले बुझाएको समानुपातिक उम्मेद्वारको बन्दसूचीप्रति समग्र झापालीहरु सन्तुष्ट देखिएका छैनन् ।

किनकि समानुपातिक प्रणालीको दुरुपयोग गरी दलहरुले मनोमानी हिसावले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् । पुराना दलहरु नेपाली कांग्रेस , नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाबाट केही उम्मेद्वारहरु समेटेपनि नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीले झापा र झापालीलाई बिर्सेका छन् । ती दुई दलले झापाका कुनै पनि उम्मेद्वारलाई बन्दसूचीमा समेटेनन् । जसका कारण असन्तुष्टि देखिएको छ ।
रास्वपामा झापाका शून्य उम्मेद्वार
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको सूचीमा झापाबाट कोही पनि परेनन् ।
समानुपातिक उम्मेद्वार बन्नका लागि झापाबाट १४ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । भोटिङमार्फत गरिएको उम्मेद्वार छनोट प्रतिष्पर्धामा झापाका कोही पनि सफल हुन नसकेका हुन् ।
झापाबाट विवेक तामाङ , शरद जोशी , शान्तिमाया न्यौपाने , सीता विश्वकर्मा , मनोज राजवंशी , भुपाल भण्डारी , भीम लम्जेल , रोहित न्यौपाने , गीताप्रसाद अधिकारी , लोकेशकुमार माझी , कुन्दन मुर्मु , अनिता नेपाली , नारायणप्रसाद दाहाल र विन्दु सिटौलाले दर्ता गराएका थिए ।त्यसमध्ये सीता विश्वकर्मा र विन्दु सिटौला ११० अंकसम्म पुगेको बताइएको छ । रवि लामिछाने , बालेन शाह र कुलमान घिसिङबीच समानुपातिक सिट बाँडफाँट हुँदा झापाका आकांक्षीलाई समेट्न नसकिएको रास्वपाका झापाका कार्यबाहक सभापति प्रकाश पाठकले बताए ।
नेकपाको बन्दसूचीमा कोही पनि परेनन्
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा झापाबाट कोही पनि परेका छैनन् । जसका कारण जिल्लाका नेता कार्यकर्ताहरुमा चर्को असन्तुष्टि बढेको छ ।
नेकपाको समानुपातिक उम्मेद्वारको लागि झापाबाट ३६ जनाको नाम सिफारिस गरिएको थियो । त्यसमध्ये कोही पनि नपरेको नेकपाका जिल्ला इन्चार्ज रंजित तामाङले बताए । उनले समानुपातिकको बन्दसूची सच्याउन केन्द्रीय कमिटीलाई आग्रह गरिसकेको बताए । ‘ सात दिनसम्म बन्दसूची सच्याउन पाइन्छ’ उनले भने , ‘कुन क्लस्टरबाट मिलाउन सकिन्छ हामीले झापाका कम्तीमा दुईजनालाई समेट्न आग्रह गरेका छौं ।’
एमालेको समानुपातिक सूचीमा झापाका ९ जना
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापाका ९ जना परेका छन् ।
एमालेको समानुपातिक सूचीमा धेरै नयाँ अनुहार परेका छन् भने केही दोहोरिएका छन् । पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट मेनुका काफ्ले , अनिता कन्दङ्वा , निता घतानी , निर्मला पाठक , विद्यानन्द राजवंशी , सोम पोर्तेल , विनाकुमारी शाह , लता प्रसाई र जितु गौतम समानुपातिक उम्मेद्वारको सूचीमा परेका हुन् ।
एमालेले विगतका आम निर्वाचनमा समानुपातिकमा अवसर पाएकालाई अपवादबाहेक नदोहोर्याउने नीति लिएको थियो । तर यस पटक पनि वरिष्ठ नेता र पहिले अवसर पाइसकेकालाई समानुपातिकमा दोहोर्याएको हो । जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस गर्दा यसअघि समानुपातिकमा रहेका व्यक्तिलाई सिफारिस नगर्न पार्टीले निर्देश गरे पनि त्यसलाई बेवास्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले अन्तिम सूची बनाएका छन् ।
समानुपातिकको बन्दसूचीमा कांग्रेसका पाँचैजना महिला
आगामी निर्वाचनका लागि समानुपातिकतर्फ झापाबाट ४४ जनाको नाम सिफारिस गरिएपनि बन्दसूचीमा पाँचजना मात्र पर्न सफल भएका छन् ।
झापाबाट सुशीला ढकाल , गोमा भट्टराई ,उमा शिवाकोटी , मनुमाया विश्वकर्मा र राधा कार्कीको नाम मात्र बन्दसूचीमा समेटिएको पार्टी स्रोतले जनाएको छ । समानुपातिक उम्मेद्वार छानिने सबै महिला हुन् । चारजना खस आर्य र एकजना दलित समुदायबाट परेका छन् ।
समानुपातिकका लागि झापाबाट ४४ जनाको नाम सिफारिस गरिएको थियो । क्षेत्र नं १ बाट ६ , २ बाट १० , ३ बाट १० , ४ बाट ५ र ५ बाट १३ जनाको नाम सिफारिस गरिएको थियो ।
राप्रपाबाट को को हुने भए समानुपातिक उम्मेद्वार ?
आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा झापाका ६ जना अटाएका छन् ।
राप्रपाले आयोगमा ११० जनाको नाम बुझाएको हो । त्यसमा झापाबाट धर्मराज माझी , खुश्बु ओली , भरिपूर्ण राई , संगीता रौनियार , रुपदल विश्वकर्मा र सूर्यनारायण गणेश परेका छन् । माझी तीन दिनअघि बिर्तामोडमा आयोजित राप्रपाको जागरण सभामा पार्टी प्रवेश गरेका थिए । उनलाई समानुपातिक उम्मेद्वार बनाउने भनेर पार्टी प्रवेश गराएको बुझिएको छ । पार्टीको जिल्ला समितिले धर्मराज माझीलाई पिछडा वर्ग र सूर्यनारायण गणेशलाई आदिवासी जनजाति क्लस्टरबाट सिफारिस गरेको थियो । तर केन्द्रीय समितिले माझीलाई आदिवासी जनजाति र गणेशलाई मधेसी क्लस्टरको भन्दै समानुपातिकको बन्दसूचीमा नाम बुझाएको छ । सरकारले माझी जातिलाई पिछडा वर्ग र गणेश(गन्गाई) लाई आदिवासी जनजातिमा राखेको छ ।
जिल्ला समितिले झापाबाट यसरी क्लस्टर छुट्याएर सिफारिस गरेको थियो – क्षेत्र नं १ बाट समानुपातिकतर्फ दिपेश राई (आदिबासी जनजाति), सुमित्रा ओझा अधिकारी (महिला), बाबुराम पराजुली (खस आर्य),लक्ष्मण खत्री (खस आर्य),त्यस्तै क्षेत्र नं २ बाट रुपदल बिश्वकर्मा (दलित), धर्मराज माझी (पिछडिएको वर्ग),कुमार भट्टराई (खसआर्य), हर्कराज थुङ्ङ्गिम (जनजाति), आमिर खान पठान (मुस्लिम),धर्मराज राजवंशी (आदिबासी) , बिष्णुप्रसाद गिरी (दशनामी) ,करिना बेगम (मुस्लिम महिला) ,देवराज परियार (उत्पीडित),गोपाल गुरुङ (जनजाति) ,प्रल्हाद खड्का (खसआर्य) ,लवकुश गिरी (खसआर्य) ,क्षेत्र नं ३ बाट सिता लम्साल (महिला), भारतेन्दु मल्लिक (पिछडिएको बर्ग), रामकुमार सिंह राजवंशी (आदिबासी),सूर्यनारायण गणेश (आदिबासी), ऋषि नेपाल (खसआर्य), सन्तोषी बिश्वकर्मा (दलित) र नन्दराम गजमेर (दलित) ,क्षेत्र नं ४ बाट खुश्बु ओली (महिला),खेमराज कार्की (खसआर्य), चित्रा श्रेष्ठ (आदिबासी जनजाति), तारामाया राई (आदिबासी जनजाति) तथा क्षेत्र नं ५ बाट डा.सूर्यनारायण साह (मधेसी), भरिपूर्ण राई (आदिबासी जनजाति),शुष्मा निरौला के.सी. (महिला) र विजयप्रसाद बराल (खसआर्य) ।



