झापा, पुष १७ । नक्कली नागरिकतासहित एक व्यक्ति बिर्तामोड– ३ बिर्ताबजारमा पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित शिवम् मिठाइ पसलबाट शिवसताक्षी– ११ बस्ने २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित प्रहरीले पक्राउ गरेको हो ।
पसल संचालकले जिल्ला प्रशासन कार्यालय झापालाई दिएको सूचनाको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेतृत्वमा खटिएको सादा पोशाकका प्रहरी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले ठाकुरलाई नक्कली जस्तो देखिने एक थान नेपाली नागरिकताको प्रमाणपत्रसहित पक्राउ गरी आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले बताए ।

पक्राउ पर्ने पप्पु ठाकुरसंग उनका बुवा राजकुमार ठाकुरको नाम भएको नक्कली नागरिकता फेला परेको हो । जुन नागरिकतामा ठेगाना सप्तरी गाउँपालिका वडा नं ५ राजगढ उल्लेख गरिएको छ । अढाई लाख रुपैयाँ खर्च गरेर ठाकुरले सो नागरिकता किनेको बताइएको छ । बिर्ताबजारका एक व्यक्तिले सो रकम लिएर नक्कली नागरिकता बनाइदिएपछि नक्कली नागरिकता फिर्ता गरी आफ्नो रकम माग्न आउँदा ठाकुर पक्राउ परेको जनाइएको छ । नागरिकता बनाइदिने व्यक्ति भने पक्राउ परेका छैनन् ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंका अनुसार पूर्वी नेपालमा नक्कली नागरिकता बनाउने एउटा ठूलो गिरोह सक्रिय छ। जसले नक्कली नागरिकता बनाएर बेचेर मोटो रकम असुलिरहेको छ । नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेकाले थप कुरा खुल्दै जाने उनले जनाए। ‘अनुसन्धान जारी छ। नक्कली नागरिकता बनाउनेहरुको नेटवर्क ठूलो छ भन्ने जानकारी आएको छ,’ सूचना अधिकारी प्रसाईंले भने ।



