झापा, पुष १८ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले एउटै ऋणी सदस्यलाई ठूलो ऋण प्रवाह गरेकै कारण कतिपय सहकारीहरु समस्यामा परेको बताएका छन् ।

झापा जिल्ला सहकारी संघको २९औँ साधारणसभालाई आज बिर्तामोडमा उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले एउटै ऋणी सदस्यलाई ठूलो ऋण प्रवाह गर्दा आउने समस्याबाट अब सहकारीहरु सतर्क हुनुपर्ने बताए ।

सहारा नेपाल साकोसका प्रमुख कार्यकारीसमेत रहेका गिरीले सहकारीका सदस्यहरुलाई उद्यमशील बनाउनुपर्नेमा जोड दिए । उनले झापाका सहकारीहरुलाई ब्राण्डिङ गर्नुपर्ने बताउँदै झापामा सहकारी अभियानलाई पुनर्विचार गर्नु पर्ने खाँचो औल्याए । ‘सहकारी अभियानलाई रिथिङ्क गर्नुपर्छ,’ उनले भने, ‘सहकारीहरुलाई अब ब्राण्डिङ गरौँ, विशिष्टिकृत बनाऔँ ।’

काठमाण्डौपछि राष्ट्रिय स्तरमा प्रतिनिधित्व झापाबाट हुने भएकाले झापाका सहकारीहरुलाई सञ्चालनका लागि केहि मोडेल विकास गर्नुपर्ने र झापा जिल्ला सहकारी पर्यटनको क्षेत्र हो भन्ने कुराको वकालत र लविङ गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेतीले सहकारीहरुले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने, सदस्यहरुले उत्पादन गरेका वस्तुलाई प्रबर्धन र बजारीकरणमा सहयोग गर्नु पर्ने बताए । सहकारी अभियानलाई गन्तव्यमा पुर्‍याउनका लागि प्रारम्भिक सहकारीका सञ्चालकदेखि छाता संघको नेतृत्वदायी भूमिकामा बस्नेसम्म सबै मर्यादित बन्नुपर्नेमा उप्रेतीले जोड दिए । यदि त्यसो नहुने हो भने राज्यले हस्तक्षेप बढाउने उनले धारणा राखे । सहकारी संस्थाहरुले लाभांशभन्दा पनि सुविधा बढाउनु पर्ने र लाभांशका लागि अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने सुझाव दिए ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.की उपाध्यक्ष मिना ढकाल, झापा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष तथा सल्लाहकार हरिचरण बानियाँले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष प्रेमकुमार कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघमा ४९३ वटा संस्था आबद्ध रहेका छन् भने ४ करोड १२ लाख ५१ हजार दुई सय शेयर पूँजी रहेको छ । अध्यक्ष कोइरालाले चालु आर्थिक वर्षका लागि २२ वटा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाले स्वागत गरेको कार्यक्रमको संचालन
सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्