झापा, पुष १९ । बुद्ध एयरको विमान दुर्घटना भएको चन्द्रगढी विमानस्थललाई सुचारु राख्न तयारी थालिएको छ ।

विमानस्थलको पूर्वपट्टि बुद्ध एयरको विमान गएराति दुर्घटना परेपछि विमान उडान र अवतरणमा समस्या देखिएपनि सुरक्षित तरिका अपनाएर हवाई सेवा सुचारु राखिने चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले बताए । ‘ हामीले विज्ञ बोलाएका छौं , सेफ्‌टी तरिकाले कसरी हुन्छ हवाई सेवा अवरुद्ध हुँदैन’ उनले भने । तर,अहिलेसम्म काठमाण्डौबाट कुनै पनि विमान भद्रपुरका लागि उडेको छैन । मौसमका कारण विमान नउडेको खत्रीले बताए । दुर्घटनामा परेको विमान लैजानका लागि बुद्ध एयरको टोली आउन लागेको उनले जानकारी दिए ।

गएराति ९.१० बजे चन्द्रगढी विमानस्थलमा काठमाण्डौवाट भद्रपुरको लागि ५१ जना यात्रु र ४ जना चालक दलसहित उडेको एटीआर ७२ बुद्ध ९०१ विमान अवतरण गर्ने क्रममा विमानस्थल रनवे पिचबाट ३सय मिटर पूर्वपट्टि भासिएको थियो । दुर्घटनामा ७ जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि ओम पाथिभरा अस्पतालमा भर्ना गरिएको थियो । घाइते हुनेमा विमानका को–पाइलट पनि रहेका छन् ।

घाइतेहरुको नामावली
१. झापा भद्रपुर न.पा.१० बस्ने वर्ष ४० का सबिन जोगी छाती, कम्मर, ढाड दुखेको, बाहिरी चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)
२..बिर्तामोड न.पा.७ बस्ने वर्ष २० की प्रेसिषा अधिकारी बायाँ खुट्टा सुन्निएको, बाहिरी चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)
३..बिर्तामोड न.पा.१ बस्ने वर्ष ४२ की सुमित्रा जोगी बायाँ खुट्टा दुखिरहेको, बाहिरी चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)
४.दमक न.पा.१ बस्ने वर्ष २८ का कमलप्रसाद कटुवाल दाहिने खुट्टामा सामान्य चोट (डिस्चार्ज) भई गएको।(यात्रु)
५.काठमाण्डौ महानगरपालिका १६ बस्ने वर्ष ४० की मुना घतानी बाहिरी चोट नभएको टाउको दुखिरहेको, चक्कर लागिरहेको अवस्था सामान्य(यात्रु)
६. सोही ठाउँ बस्ने वर्ष १६ की प्रिया घतानी दाहिने घुँडामा चोट अवस्था सामान्य (यात्रु)
७ ललितपुर महानगरपालिका ४ बस्ने वर्ष २४ का सुशान्त श्रेष्ठ अनुहार र टाउकोमा चोट अवस्था सामान्य (को–पाईलट) ।

घाइतेमध्ये भद्रपुर १० का सबिनको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको र अन्य डिस्चार्ज भई फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्