झापा, पुष १९ । झापाको कन्काई पुलमा शंकास्पद वस्तु राखेर राजावादीको नाममा आतंक फैलाउने दुष्प्रयास गरिएको छ ।

आउन लागेको निर्वाचनलाई भड्काउने नियत राखेर त्यस्तो गलत प्रयास गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि निर्वाचनका बेला गलत तत्वहरुले त्यस किसिमको आतंक सिर्जना गर्न खोजेका थिए । अहिलेसम्म नसुनिएको सनातन सुरक्षा सेना, नेपाल नामक संगठनको पर्चा घटनास्थलमा भेटिएको हो । सो पर्चामा यस्तो लेखिएको छ ।
सनातन सुरक्षा सेना, नेपाल
घोषणा पत्र
मिति २०८२/०९/२०
सनातन सुरक्षा सेना, नेपाल यो स्पष्ट घोषणा गर्दछ कि–नेपालमा राजसंस्था पुनःस्थापना र वैदिक सनातन हिन्दू राष्ट्र घोषणा नभएसम्म आगामी फागुन २१ गते हुने निर्वाचनलाई पूर्णरूपमा बहिष्कार गर्ने निर्णय गरिएको छ।
हालको धर्मनिरपेक्ष तथा गणतान्त्रिक व्यवस्था नेपालको इतिहास, सभ्यता, संस्कृति र वैदिक सनातन पहिचानविरुद्ध थोपारिएको व्यवस्था हो।
जनताको आस्था, परम्परा र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गर्ने यस्ता संरचनालाई सनातन सुरक्षा सेना कुनै हालतमा स्वीकार गर्दैन।
यसैले–फागुन २१ को निर्वाचनमा सहभागी हुने,उम्मेदवार बन्ने,मतदान गर्ने
निर्वाचन प्रक्रियालाई समर्थन गर्ने सम्पूर्ण राजनीतिक दल, समूह र व्यक्ति
सनातन सुरक्षा सेनाका आन्दोलनका विरोधी हुनेछन् भन्ने कुरा हामी खुला रूपमा घोषणा गर्दछौँ।यो आन्दोलन सशस्त्र हुने छ। अबको विकल्प हतियार नै हो ।
हाम्रा मुख्य मागहरू
१. राजासंस्था तुरुन्त पुनःस्थापना गरियोस्
२. नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गरियोस्
३. धर्मनिरपेक्षताको नाममा भएको सांस्कृतिक अतिक्रमण बन्द गरियोस्
४. राष्ट्रियता, सनातन धर्म र सभ्यताको रक्षा गरियोस्
नाराहरू
राजा बिना राष्ट्र अधुरो छ।
वैदिक सनातन हिन्दू राष्ट्र जिन्दाबाद।
धर्मनिरपेक्षता होइन, धर्मसापेक्ष राष्ट्र चाहिन्छ । फागुन २१ को निर्वाचन बहिष्कार गरौं।
राजसंस्था पुनःस्थापना गरौ ।
सनातन धर्म हाम्रो पहिचान हो।
जय सनातन
विशाल अक्सन इन्चार्ज



